आइतबार १० बजेसम्मका प्रमुख १० खबर

आइतबार, २७ बैशाख, २०८३
डिजिटल संस्करण

एसइईको नतिजा हेर्ने एसएमएस र वेबसाइटको सूची सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्राप्त गर्न सकिने माध्यमहरूको सूची सार्वजनिक गरेको छ।

एसइई नतिजा सार्वजनिक गर्ने तयारीसँगै कार्यालयले एक सूचना जारी गर्दै नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस, आइभिआर तथा विभिन्न वेबसाइटमार्फत हेर्न सकिने व्यवस्था मिलाइएको जनाएको हो।

यस्ता छन् रास्वपाको सचिवालय बैठकका पाँच निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले विभिन्न पाँच निर्णय गरेको छ । अधिवेशन तालिका स्वीकृत गर्नेदेखि विभिन्न विभागमा मनोनयन, जिल्ला समिति बिघटन, १५ जनाको सदस्यता खारेजी र पार्टीको केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ । 

संविधान संशोधनमा संघीयता र प्रदेश संरचनाबारे छलफल

संघीयता कार्यान्वयनको महत्वपूर्ण कडीका रूपमा रहेको प्रदेश संरचना र संविधान संशोधनका विषयमा सरोकारवालाले गम्भीर चासो व्यक्त गरेका छन्। फेडरलिजम् एन्ड लोकलाइजेसन सेन्टर (एफएलसी)को आयोजनामा आइतबार राजधानीमा आयोजित अन्तर्क्रियामा राजनीतिक दलका नेता, संविधानविद् र विज्ञहरूले आफ्ना धारणा राखेका हुन्।

संविधान संशोधन कार्यदलका सदस्य तथा प्रतिनिधिसभा सदस्य मोहनलाल आचार्यले संशोधनको मस्यौदा तयार पार्दा तल्लो तहसम्म खुला छलफल गरिने प्रतिबद्धता जनाए। ‘प्रदेश सभा सदस्य र मन्त्रालयको संख्या घटाउने तथा निर्वाचन प्रणालीमा सुधार गर्ने ठाउँ छ। कतिपय संवैधानिक आयोगहरूलाई गाभेर छाता आयोग बनाउन पनि सकिन्छ,’ उनले भने।

सांसदलाई रविको निर्देशन– योगदानको मूल्य माग्न ढोका नढकढक्याउनू

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीमा योगदान गरेको भन्दै ढोका नढकढक्याउन आग्रह गरेका छन्।

पार्टीका सांसदहरूकाा लागि आयाेजित दुईदिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले मूल्य माग्ने गरी आफूले पनि कुनै ठुलो योगदान नगरेको प्रस्ट पारे।

रास्वपाको शिक्षा विभाग प्रमुखमा मिलन पाण्डे

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले विभिन्न विभागको प्रमुख र उपप्रमुख मनाेनयन गरेको छ। आइतबार बसेको बैठकले मिलन पाण्डेलाई पार्टीको शिक्षा विभाग प्रमुखमा मनोनयन गरेको रास्वपा प्रवक्ता मनीष झाले जानकारी दिए।

बैठकले स्टार्ट–अप विभागको प्रमुखमा डा. प्रभात अधिकारी, र्यापिड एक्सन टिमको केन्द्रीय विभाग प्रमुखमा बैकुण्ठ थापा आशिष (मकवानपुर) र उपप्रमुखमा पूर्वडिआइजी विदुर खड्कालाई मनोनयन गरेको छ।

मेयरले मापसे गरेर गाडी चलाएपछि...

कैलालीको गोदावरी नगरपालिकाका प्रमुख वीरेन्द्र भट्ट चढेको सरकारी गाडी शनिबार राति धनगढीको गेटामा दुर्घटना भयो। नगर प्रमुख भट्टले मादक पदार्थ सेवन गरी चलाएका कारण गाडी दुर्घटना भएको खुलेको छ। मापसे गरेर गाडी चलाएको पाइएपछि ट्राफिक प्रहरीले उनलाई जरिवाना तिराएको छ।

भट्टले चलाएको सुपप्र ०१००१ झ ६०१ नम्बरको गाडी शनिबार राति साढे १० बजेतिर अनियन्त्रित भई ६ लेन सडकको रेलिङमा ठोक्किएर दुर्घटना भएको थियो। उक्त गाडी धनगढीबाट अत्तरिया गइरहेको थियो। मापसे र लापरबाही गरेर गाडी चलाएको कसुरमा नगर प्रमुख भट्टलाई एक हजार रुपैयाँ जरिवाना तिराइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ।

ठेक्का ह्याकिङको क्रिप्टोबाट भुक्तानी : विक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा दायर

सार्वजनिक खरिद अनुगमन कार्यालयको सर्भरमा ह्याकिङ गरी सरकारी ठेक्का हत्याउने घटनामा संलग्न २२ जनाविरुद्ध मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालयले शुक्रबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। 

पूर्वमन्त्रीसमेत रहेका राप्रपाका नेता तथा कालिका कन्ट्रक्सनका मालिक बिक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा दायर गरिएको छ। उनीविरुद्ध विद्युतीय अपराध, संगठित अपराध र अभौतिक मुद्राको कारोबारसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको छ। 

पूर्वमन्त्री पाण्डेसहित आशिष निर्माण सेवाका ऋषिकेश गौली, कल्पवृक्ष बिल्डर्सका प्रकाश ढुंगाना, आइकोन प्रालिका स्वदेश पोखरेल, चपुर निर्माण सेवाका अमृत बोहरा, भिसान कन्ट्रक्सनका टंककुमार श्रेष्ठ, सिभांस निर्माण सेवाका अनिल श्रेष्ठ, गीताञ्जली कन्ट्रक्सनका जीवनकुमार दास, कटुवाल कन्ट्रक्सनका सागर कटवाल, थुम्का निर्माण सेवाका संजय भट्ट, इन्जिनियर भाष्करराज अर्याल, भरत धामी र सहरी विकास मन्त्रालयका कम्प्युटर अपरेटर दिवाकर देउजालाई पक्राउ गरेर मुद्दा दायर भएको हो। 

गुटबन्दी नगर्न आग्रह गर्दै रविले भने– रास्वपा फुट्ने सम्भावना छैन

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पाटी फुट्ने कुनै सम्भावना नरहेको भन्दै सांसदहरूलाई गुटबन्दी नगर्न आग्रह गरेका छन्।

आफूहरू राजनीतिक रूपमा हुर्किसकेको प्रस्ट्याउँदै लामिछानेले रास्वपा फुट्ला भनेर मुख नमिठ्याउन आग्रह गरे।

‘मिडियाका साथीहरूलाई पनि रहर लाग्छ नि, हेडलाइन दिँदा फुट्छन् कि भनेर बडो मुख मिठ्याउनुहुन्छ,’ उनले भने, ‘आई एम सरी, बास्ना त चल्ला, खाना आउँदैन। सर्भिस हुने वाला छैन। वी आर पोलिटिकल्ली मच्योर्ड इनफ। राजनीतिक रूपमा हामी हुर्किसकेका छौँ।’

७० वर्ष अघि देशमा मिल्नुपर्ने मानिसहरू नमिल्दा देश ७० वर्षपछाडि परेको बताउँदै उनले सबैको गन्तव्य एउटै हुनुपर्नेमा जोड दिए।

मुलुकभर झन्डै दुई लाख लागुऔषध दुर्व्यसनी

गृहले ०७६ मा गरेको सर्वेक्षणअनुसार मुलुकभर लागुऔषध दुर्व्यसनीको संख्या एक लाख ३० हजार ४२४ थियो । उक्त सर्वेक्षणले प्रत्येक वर्ष ५.०६ प्रतिशतले दुर्व्यसनी बढेको देखाएको थियो । यसलाई आधार मान्दा ०८२ सम्म मुलकुभर दुर्व्यसनीको संख्या एक लाख ७५ हजार ३८१ पुगेको देखिन्छ । यो ०७६ को भन्दा ४४ हजार ९५७ ले धेरै हो ।

तथ्यांकअनुसार दुर्व्यसनीको संख्या सबैभन्दा धेरै बागमती प्रदेशमा रहेको देखिन्छ । ०७६ मा यो संख्या ४६ हजार ४८० थियो । ०८२ मा यो बढेर ६२ हजार ४९६ पुगेको देखिन्छ । त्यसपछि कोशी प्रदेशमा दुर्व्यसनीको संख्या धेरै छ । ०७६ मा उक्त प्रदेशमा २७ हजार ६०४ दुर्व्यसनी थिए, ०८२ मा यो संख्या ३७ हजार ११८ पुगेको देखिन्छ ।

पोखरामा ग्याङ फाइट गर्ने ६ जना पक्राउ

‘ग्याङ फाइट’ गरेको आरोपमा कास्की प्रहरीले पोखराबाट ६ जनालाई पक्राउ गरेको छ। पोखरा– २ स्थित बागलुङ बसपार्कमा वैशाख २२ गते राति करिब ९ः३० बजेतिर ग्याङ फाइट गरेको आरोपमा प्रहरीले शनिबार राति उनीहरूलाई पक्राउ गरेको हो।

सुझावित समाचार