मेयरले मापसे गरेर गाडी चलाएपछि...

आइतबार, २७ बैशाख, २०८३
डिजिटल संस्करण

कैलालीको गोदावरी नगरपालिकाका प्रमुख वीरेन्द्र भट्ट चढेको सरकारी गाडी शनिबार राति धनगढीको गेटामा दुर्घटना भयो। नगर प्रमुख भट्टले मादक पदार्थ सेवन गरी चलाएका कारण गाडी दुर्घटना भएको खुलेको छ। मापसे गरेर गाडी चलाएको पाइएपछि ट्राफिक प्रहरीले उनलाई जरिवाना तिराएको छ।

भट्टले चलाएको सुपप्र ०१००१ झ ६०१ नम्बरको गाडी शनिबार राति साढे १० बजेतिर अनियन्त्रित भई ६ लेन सडकको रेलिङमा ठोक्किएर दुर्घटना भएको थियो। उक्त गाडी धनगढीबाट अत्तरिया गइरहेको थियो। मापसे र लापरबाही गरेर गाडी चलाएको कसुरमा नगर प्रमुख भट्टलाई एक हजार रुपैयाँ जरिवाना तिराइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक रमेश आचार्यले भट्टसँग मापसे गरेर चलाएकोमा पाँच सय र लापरबाही गरेर चलाएकोमा पाँच सय रुपैयाँ जरिवाना असुल गरिएको बताए। मेयरका आफन्त आएर जरिवाना तिरेर गएका आचार्यले बताए। पहिलोपटकका लागि मापसे र लापरबाही गरेर चलाएकोमा पाँच–पाँच सयका दरले जरिवाना गराउन सक्ने व्यवस्था रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि सार्वजनिक भएको भिडियो र स्थानीयको भनाइका आधारमा मेयर भट्टले मापसे गरेको देखिएको ट्राफिक प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक आचार्यका अनुसार ट्राफिक प्रहरी पुग्नुअघि मेयर भट्ट भने अर्को गाडीमा गइसकेका थिए।

‘प्रत्यक्षदर्शीको भनाइ र भिडियो हेर्दा पनि उहाँले मापसे गरेको बुझिन्छ,’ प्रहरी निरीक्षक आचार्यले भने, ‘यसलाई उहाँले अस्वीकार पनि गर्नुभएको छैन। अस्वीकार गरेर जरिवाना नतिरेको भए अहिले पनि मापसे जाँच गर्न सकिन्थ्यो।’ आचार्यका अनुसार स्थानीय ट्राफिक पोस्ट राजपुरले मापसे गरेर चलाएको भनेर जिल्लालाई रिपोर्ट पठाएको थियो।

दुर्घटनामा भट्टलाई चोट लागेको छैन। गाडीको अगाडिको हेडलाइटसहित केही भाग कच्याककुचुक भएको छ भने रेलिङमा पनि क्षति पुगेको छ। दुर्घटना भएपछि राति त्यहाँ जम्मा भएका स्थानीयले ट्राफिक प्रहरीलाई खबर गरेका थिए। तर, ट्राफिक प्रहरी पुग्नुअघि नै मेयर अर्को गाडीमा गइसकेकाले मापसे जाँच गर्न नपाएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। गाडी भने स्थानीय प्रहरी पोस्टले नियन्त्रणमा लिएको थियो।

प्रत्यक्षदर्शीका अनुसार मेयर भट्टले मादक पदार्थ सेवन गरेको देखिन्थ्यो। दुर्घटनापछि स्थानीयसँग संवादको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। शनिबार बिदाको दिन त्यो पनि मापसे गरेर सरकारी गाडी चलाएको भन्दै सामाजिक सञ्जालमा मेयर भट्टको आलोचना भइरहेको छ।

नगर प्रमुख भट्टले भने दुर्घटना हुँदा आफूले मादक पदार्थ सेवन नगरेको दाबी गरेका छन्। एक्कासि गाई अगाडि आएपछि दुर्घटना भएको उनले बताए। ‘अर्को साइडबाट गाडी आइरहेको थियो। त्यो गाडीको हर्नले छाडा गाई एक्कासि अगाडि आयो। गाईलाई बचाउन खोज्दा गाडी रेलिङमा ठोक्किएको हो,’ भट्टले भने, ‘मापसे गरेको आरोप गलत हो।’

See More On

सुझावित समाचार