‘ग्याङ फाइट’ गरेको आरोपमा कास्की प्रहरीले पोखराबाट ६ जनालाई पक्राउ गरेको छ। पोखरा– २ स्थित बागलुङ बसपार्कमा वैशाख २२ गते राति करिब ९ः३० बजेतिर ग्याङ फाइट गरेको आरोपमा प्रहरीले शनिबार राति उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा पोखरा–१३, बाझापाटन बस्ने २७ वर्षीय सुजन आलेमगर, कास्कीको मादी गाउँपालिका–११ घर भई बाझापाटन बस्ने २३ वर्षीय राजेश परियार, बाग्लुङ बसपार्क बस्ने २० वर्षीया लिजा पुन, गोरखाको धार्चे गाउँपालिका–६ घर भई बाझापाटन बस्ने ३० वर्षीय दीपेश भन्ने दिलेराम गुरुङ तथा नुवाकोट घर भई बाग्लुङ बसपार्क बस्ने १८ वर्षीय सुजन तामाङ र २५ वर्षीय राजकुमार तामाङ रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।
ग्याङ फाइटको भिडियो सामाजिक संजालमा भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय र मातहतको वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई बाझापाटन र बाग्लुङ बसपार्क क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू झैझगडा गर्नुको मुख्य कारण लागुऔषध कारोबार रहेको खुल्न आएको बस्नेतले जानकारी दिए। हाल प्रहरी नियन्त्रणमा रहेका उनीहरूविरुद्ध थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको बस्नेतले बताए।