पोखरा स्पोर्टस् अवार्ड : लाइफटाइम अचिभमेन्ट अवार्ड ओलम्पियन टीकाबहादुर बोगटीलाई

आइतबार, २७ बैशाख, २०८३
डिजिटल संस्करण

१०औँ संस्करणको पोखरा स्पोर्टस् अवार्ड २०८२ अन्तर्गत ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ ओलम्पियन टीकाबहादुर बोगटीलाई प्रदान गरिने भएको छ।

नेपाल खेलकुद् पत्रकार मञ्च गण्डकीको आयोजना, हिमश्री फुड्स प्रालि पोखराको उत्पादन रारा तैयारी चाउचाउको मुख्य प्रायोजन, पोखरा न्युरोडस्थित गुरुङ गहना घर प्रालि र केल्मी नेपालको सहप्रायोजनमा हुने कार्यक्रमअन्तर्गत वितरण गरिने ९ विधामध्येको एक लाइफटाइम अचिभमेन्ट अवार्डबाट ६४ वर्षका बोगटीलाई सम्मान गर्न लागेको आयोजक मञ्चका अध्यक्ष एमबी आस्थाले जानकारी दिए।

२०१९ मा गोरखाको ताप्लेमा जन्मिएका बोगटीले २०३७ सालमा नेपाली सेनामा भर्ना भएपछि आफ्नो खेल जीवनलाई व्यावसायिक रूपमा अगाडि बढाएका थिए। उनले एथ्लेटिक्सका माध्यमबाट नेपालको प्रतिष्ठा अन्तर्राष्ट्रिय जगतमा पुर्याएका छन्। बोगटीले सन् १९८८ को सिओल र सन् १९९६ को एटलान्टा ओलम्पिक तथा सन् १९९४ मा १२औं एसियाली खेलकुद, चौथोदेखि सातौँ सागसम्म निरन्तर सहभागी भएका छन्। उनले सन् १९९१ मा श्रीलंका र १९९३ मा बंगलादेशमा भएको सागमा कास्य पदक हात पारेका थिए। सन् १९९५ मा भारतको मद्रासमा भएको सागमा उनले स्वर्ण पदक हात पारेका थिए।

२०४४ सालदेखि अन्तर्राष्ट्रिय ट्रयाकमा पाइला राखेका बोगटीले राष्ट्रिय स्तरका धेरै प्रतियोगितामा स्वर्ण पदक तथा ‘गोरखा दक्षिण बाहु’बाट सम्मानीत भइसकेका छन्। हाल उनी आफ्नै जन्मथलो गोरखामा कृषि कर्म गरिरहेका छन्।

कार्यक्रममा गण्डकी प्रदेशको खेलकुद विकासमा योगदान पु¥याएका खेलाडी, प्रशिक्षक, खेलकुद संस्था, पत्रकार गरी विभिन्न नौ विधामा अवार्ड वितरण गरिनेछ।

कार्यक्रममा लाइफ टाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, पिपल्स च्वाइस, वर्ष उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल संघ/संस्था, वर्ष उत्कृष्ट पत्रकारिता अवार्ड रहेका अध्यक्ष आस्थाले जानकारी दिए। नौ विधामध्ये वर्ष उत्कृष्ट खेल संघ/संस्थाको अवार्ड कास्की जिल्ला क्रिकेट संघलाई र वर्ष उत्कृष्ट पत्रकारिता अवार्ड पत्रकार दिननाथ बराललाई प्रदान गरिने भएको छ।

सुझावित समाचार