दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले स्थानीय बासिन्दालाई उत्पादन र स्वरोजगारसँग जोड्ने उद्देश्यले ‘उत्पादनमा उपप्रमुख महाअभियान’ कार्यक्रम सुरु गरेको छ । नगरपालिकाले चालू आर्थिक वर्षका लागि रु. एक करोड ५० लाख बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनमा ल्याएको हो ।
महाअभियानअन्तर्गत कफी खेतीको सम्भावना रहेका वडाहरू पहिचान गरी किसानलाई कफीका बिरुवा निःशुल्क वितरण गर्नुका साथै प्राविधिक सहयोगसमेत उपलब्ध गराइँदै आएको छ । हरेक वडाका किसानलाई आफ्नै ठाउँमा स्वरोजगार बनाउँदै प्रतिवर्ष १० लाख किलोग्राम प्रशोधित कफी उत्पादन गर्ने लक्ष्य राखिएको नगरपालिकाले जनाएको छ ।
नगर उपप्रमुख विशन राईका अनुसार यस वर्ष नगरपालिकाभित्र कम्तीमा आठ हेक्टर क्षेत्रफलमा २८ लाख कफीका बिरुवा रोप्ने तयारी गरिएको छ ।
‘हाम्रो मुख्य लक्ष्य युवा शक्तिलाई गाउँमै रोजगारी दिनु हो । यो महाअभियानले बाँझो जमिनको सदुपयोग गर्नुका साथै स्थानीयको आयआर्जनमा वृद्धि गर्नेछ । विशेषगरी वैदेशिक रोजगारीमा जाने युवालाई स्वदेशमै स्वरोजगारको अवसर सिर्जना गर्ने उद्देश्य छ,’ उनले भने, ‘कफी खेतीलाई व्यावसायिक रूपमा अगाडि बढाएर नगरलाई भविष्यमा ‘कफी हब’को रूपमा विकास गर्ने योजना बनाइएको छ ।’
नगरपालिकाले सुरु गरेको अभियानका कारण परम्परागत रूपमा कोदो, मकै र धान खेती गर्दै आएका किसान व्यावसायिक कफी खेतीतर्फ आकर्षित हुन थालेका छन्। कृषकहरूले यो कार्यक्रमले आत्मनिर्भर बन्न र आर्थिक अवस्था सुधार्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।
नगरपालिकाले कफीका बिरुवा वितरण गर्नुअघि किसानलाई व्यावसायिक कफी खेतीसम्बन्धी प्राविधिक तालिमसमेत दिएको जनाएको छ । हाल गाउँ–गाउँमा कफी रोप्नका लागि खाल्डा खन्ने काम तीव्र रूपमा भइरहेको छ ।
महाअभियानअन्तर्गत कफीका बिरुवा उत्पादन गर्ने नर्सरीमा समेत स्थानीयले रोजगारी पाएका छन् । गत वर्षदेखि सञ्चालन गरिएको कफी खेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत वडा नं. ६ नेर्पा र वडा नं. १४ बुइपामा कफी नर्सरी स्थापना गरिएको छ ।
नेर्पाकी अञ्जना रिजालले नगरपालिकाको अभियानका कारण आफ्नै गाउँमा रोजगारी पाएको बताइन् । ‘पहिला रोजगारीका लागि सहर वा विदेश जानुपर्ने बाध्यता थियो। अहिले गाउँमै काम पाएका छौँ,’ उनले भनिन् ।
१५ वडा रहेको जिल्लाकै सबैभन्दा ठुलो स्थानीय तह दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले गत वर्षदेखि कफी प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्दै आएको हो ।
उपप्रमुख राईका अनुसार यो कार्यक्रमले बाँझो जमिनलाई हराभरा बनाउनुका साथै स्थानीय अर्थतन्त्रमा समेत ठुलो टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
‘जब पाखाहरूमा कफी फल्न थाल्छ, तब नगरपालिकाको पहिचान एउटा पहाडी सहरमा मात्र सीमित रहनेछैन । यो ‘कफी हब’को रूपमा चिनिनेछ,’ उनले भने, ‘जिल्लामा कफीको माग अत्यधिक बढेको छ । कफीमा अहिले वार्षिक रु. २० करोडभन्दा बढी पुँजी बाहिरिने गरेको छ । केही वर्षभित्रै जिल्लाभरको माग यहीँबाट पूरा गर्ने लक्ष्य छ ।’
नगरपालिकाले गत वर्ष पकेट क्षेत्र निर्धारण गरी ८२ हजार कफीका बिरुवा निःशुल्क वितरण गरेको थियो । यस वर्ष २२ लाख बिरुवा वितरण गर्ने योजनाअनुसार हालसम्म करिब तीन लाख बिरुवा वितरण गरिसकिएको जनाएको छ ।
नगरपालिकाभित्र २८ हजार ७०३ हेक्टर खेतीयोग्य जमिन रहेकोमा एक करोड ४० लाख कफीका बिरुवा रोप्ने दीर्घकालीन लक्ष्य राखिएको छ । वार्षिक रु. २० अर्बसम्म आम्दानी गर्ने उद्देश्यले यस वर्ष ५० लाख बेर्ना उत्पादन गर्ने तयारी गरिएको नगरपालिकाले जनाएको छ ।
कफी खेती प्रवर्द्धन कार्यक्रमका लागि नगरपालिकाभित्र ४४ वटा समूह गठन गरिएको छ । समुद्री सतहबाट आठ सय मिटरदेखि एक हजार ६ सय मिटरसम्मको उचाइमा कफी उत्पादन उपयुक्त हुने प्रमाणित भएपछि व्यावसायिक खेती विस्तार गर्न २० वटा ड्रिलिङ मेसिन प्रयोगमा ल्याइएको छ ।
महाअभियान अन्तर्गत दैनिक ७०–८० जना स्थानीयले रोजगारी पाएका छन् । किसानले उत्पादन गरेको कफी यहीँ प्रशोधन गर्ने योजनाअनुसार कार्यक्रम अघि बढाइएको उपप्रमुख राईले जानकारी दिए ।
खोटाङ जिल्लाका १० स्थानीय तहमध्ये अधिकांशले कफी तथा चिया प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिरहेका छन् । स्थानीय तहहरूले उत्पादनमा आधारित कार्यक्रम लागू गरेपछि किसानसमेत उत्साहित बनेका छन् ।