काठमाडौंको चित्लाङ एफसी ले आठौँ राष्ट्रिय बागमती गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । मकवानपुरको बागमती गाउँपालिका–८ स्थित सहिद स्मृति रंगशाला झुरझुरे खेलमैदानमा शनिबार भएको फाइनल खेलमा सर्लाहीको बागमती युथ क्लब लाई ४–० गोल अन्तरले पराजित गर्दै चित्लाङले पहिलो सहभागितामै ऐतिहासिक सफलता हात पारेको हो ।
फाइनल खेलमा चित्लाङ सुरुदेखि नै आक्रामक रूपमा प्रस्तुत भएको थियो । खेल सुरु भएको दोस्रो मिनेटमै एरोन थापाले गोल गर्दै टोलीलाई अग्रता दिलाए । सुरुवाती गोलले दबाबमा परेको बागमती युथले खेलमा फर्कने प्रयास गरे पनि चित्लाङको संगठित आक्रमण र बलियो मिडफिल्डका कारण सफल हुन सकेन । चित्लाङका विदेशी खेलाडी सोलोमन किङले खेलको १७औँ मिनेटमा दोस्रो गोल थपेपछि बागमती झनै दबाबमा परेको थियो ।
पहिलो हाफ २–० को अग्रतामा समाप्त गरेको चित्लाङले दोस्रो हाफमा पनि खेल नियन्त्रणमा राख्यो । दोस्रो हाफको ४८औँ मिनेटमा सोलोमनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । त्यसपछि खेलको ७७औँ मिनेटमा समीर तामाङले गोल थप्दै चित्लाङको जित सुनिश्चित गरे ।
उत्कृष्ट प्रदर्शन गरेका समीर तामाङ फाइनल खेलको ‘प्लेयर अफ दि म्याच’ घोषित भए । उपाधिसँगै चित्लाङले नगद १० लाख रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता बागमती युथ क्लबले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ ।
विजेता तथा उपविजेता टोलीलाई बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान तथा प्रतियोगिता संयोजक रहर सिं थिङलगायतले पुरस्कार तथा ट्रफी प्रदान गरेका थिए ।
लक्ष्मण थापा बने सर्वोत्कृष्ट खेलाडी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका चित्लाङ एफसीका लक्ष्मण थापा ‘सर्वोत्कृष्ट खेलाडी’ घोषित भए । उनले नगद १ लाख १ हजार रुपैयाँ प्राप्त गरे ।
त्यसैगरी उत्कृष्ट गोलरक्षक चित्लाङका प्रिसो, उत्कृष्ट डिफेन्डर बागमती युथका आयुष मगर, उत्कृष्ट मिडफिल्डर बागमतीकै अनिष महर्जन, उत्कृष्ट फरवार्ड चित्लाङका एरोन थापा तथा उत्कृष्ट प्रशिक्षक चित्लाङका सुमन श्रेष्ठ घोषित भए । विधागत उत्कृष्ट सबैले जनही २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
बागमती गाउँपालिका मकवानपुरको प्रायोजनमा बागमती खेलकुद विकास समिति ले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा आयोजकसहित १० टोलीको सहभागीता थियो ।