बर्दिया राष्ट्रिय निकुञ्जनजिक रहेको टाइगर ट्रयाक इकोलज ‘आर्किटाइजर ए प्लस’ अवार्डको फाइन लिस्टमा परेको छ । ठाकुरबाबा नगरपालिका– ९ मा रहेको वातावरणमैत्री टाइगर ट्रयाक इकोलज ‘आर्किटाइजर ए प्लस’ अवार्डको फाइन लिस्टमा परेको हो ।
स्थानीय स्तरमा पाइने माटो, माटोको टाउल, काठलगायतका स्थानीय स्रोतसाधनबाट बनेको टाइगर ट्रयाक इकोलज वातावरणमैत्री रहेको छ । वातावरणमैत्री भएको हुँदा विदेशी पर्यटकको रोजाइमा समेत टाइगर ट्रयाक इकोलज पर्छ ।
वातावरणमैत्री टाइगर ट्रयाक इकोलज, सिंगापुर, थाइल्यान्ड, मेक्सिको र संयुक्त राज्य अमेरिकाका बनेका वास्तुकला, निर्माण र दिगो आतिथ्यता सत्कारको श्रेणीको आधारमा आर्किटाइजर ए प्लस अवार्ड छनाेटमा गरिन्छ । सोही छनाेटमा टाइगर ट्रयाक इकोलज परेको हो ।
प्राकृतिक स्रोतसाधनको प्रयोग गरेर वातावरणमैत्री लज निर्माण गरिएकाले पर्यावरणमैत्री पाहुना सत्कार विधामा टाइगर ट्रयाक इकोलज छनाेटमा परेको लजका सञ्चालक हेमन्तप्रसाद आचार्यले बताए । उनले भने, ‘पाँचवटा राष्ट्रको बिचमा भएको प्रतिस्पर्धामा टाइगर ट्रयाक इकोलज पनि परेको छ । प्रतिस्पर्धामा प्रथम हुनका लागि भोटिङको आवश्यकता पर्छ । फाइनलमा प्रथम हुन मे १५ सम्म भोटिङ गर्ने र त्यसपछि नतिजा सार्वजनिक हुन्छ ।’
आर्किटाइजर ए प्लस अवार्ड वास्तुकला र निर्माणसँग सम्बन्धित अवार्ड हो । यसको आयोजना संयुक्त राज्य अमेरिकामा रहेको संस्थाले गर्छ।