- हाम्रो शिक्षामा प्रारम्भिक शैक्षिक चरणमा वातावरण संरक्षणलाई गम्भीरतापूर्वक लिई पाठ्यपुस्तकमा समावेश गरिनुपर्छ
एक दिउँसो हाइना प्रान्तस्थित सान्या अपार्टमेन्ट कम्प्लेक्सको बगैंचामा मैले पाँचजना केटाकेटीलाई नक्कली लडाइँका क्रममा बाँसको एउटा डाँठ भाँचिरहेको देखेँ । उनीहरूले अज्ञानवश निर्दयीपूर्ण रूपमा कलिला मुना भाँचिरहेका थिए । तुरुन्तै मैले उनीहरूलाई यो वातावरणका लागि हानिकारक छ भनेर सम्झाएँ, तर उनीहरूले मलाई खासै चासो देखाएनन् । जब मैले पुनः वातावरणको सवाल उठाएँ, एउटा बालकले जवाफ दिए कि त्यहाँ उनीहरूलाई शिक्षा दिनु यो मेरो कुनै काम होइन । नजिकैको एकजना मानिसले एक टकले हेरे, जसका कारण म त्यहाँबाट थप केही नबोली एकोहोरो हिँड्न बाध्य भएँ । पछि फर्केर आउँदा मैले उनीहरूले दुइटा ठुला बाँसका मुना जथाभावी भाँचेको पाएँ ।
माथिको विषय सुन्दा समान्य लागे पनि यो वातावरणीय पक्ष निकै महत्वपूर्ण छ र वातावरण प्रत्यक्ष रूपमा हाम्रो जीवनसँग जोडिएको छ । जब मैले उनीहरूलाई स्कुलमा बिरुवाहरू जोगाउन सिकाइएको छ कि भनेर सोधेँ, एक बालकले स्पष्ट रूपमा ‘छैन’ भने । यो एक पृथक् घटना भए पनि यसले सम्पूर्ण परिदृश्यलाई प्रतिनिधित्व गर्न सक्छ । वातावरण संरक्षणबारे जनचेतना जगाउनु धेरै महत्वपूर्ण छ । अर्थात्, विश्वव्यापी रूपमा वातावरण संरक्षणबारे बालबालिकालाई विद्यालय र घरमा सानै उमेरदेखि सचेत बनाउनुपर्छ । तब मात्र उनीहरू नजिकको वातावरण संरक्षण गर्न अभिप्रेरित हुन्छन् ।
सन् २०२२ मा मात्र केन्द्रीय शिक्षा अधिकारीले निर्देशन जारी गरेपछि हरियो र कम कार्बन जीवनको अवधारणालाई विभिन्न स्तरमा चीनको शैक्षिक सामग्रीमा बिस्तारै एकीकृत गर्न थालियो । सांघाईजस्ता केही सहरले वातावरणीय क्षेत्रमा केही प्रगति गरेको रिपोर्ट गरिएको छ । त्यहाँ लगभग ८० प्रतिशत विद्यालयले हरित क्याम्पस र वातावरणमैत्री शिक्षालाई प्रवर्द्धन गरिरहेका छन् । तर, वातावरण संरक्षण शिक्षालाई प्रारम्भिक विद्यालय शिक्षाको पाठ्यपुस्तक र पाठ्यक्रममा गहिरो रूपमा समावेश गरिएको छैन । निःसन्देह, चीनले वातावरण संरक्षणमा उल्लेखनीय फड्को मारेको छ ।
चीनमा लगभग ९० प्रतिशत स्थलीय पारिस्थितिक प्रणाली र ७४ प्रतिशत राष्ट्रिय रूपमा संरक्षित वन्यजन्तु र वनस्पति प्रजाति प्रभावकारी रूपमा संरक्षण गरिएका छन् । थप रूपमा, चीन वायु गुणस्तर सुधार गर्ने सन्दर्भमा विश्वको सबैभन्दा छिटो देश बनेको छ । निलो आकाश र सेता बादलको रमणीय दृश्य सामान्य बन्दै गएका छन् । शिक्षा अधिकारीले आफ्नो पाठ्यक्रममा वातावरण संरक्षणलाई प्राथमिकता दिनुपर्छ । केही विद्यालयमा, वातावरणीय अध्ययनका लागि विशेष शिक्षक छैनन् र जिम्मेवारी प्रायः नैतिक शिक्षाका शिक्षकलाई सुम्पिन्छ । फलस्वरूप, केही स्कुले बालबालिका वातावरण संरक्षण र आफ्नो दैनिक जीवनबिचको सम्बन्धबारे अनभिज्ञ छन् । एउटा सर्वेक्षणले प्राथमिक र माध्यमिक विद्यालयका विद्यार्थीले पारिस्थितिक व्यवहार र वातावरणीय जागरुकतामा कम अंक प्राप्त गरेको पत्ता लगाएको छ ।
हाम्रो शिक्षामा विशेषगरी प्रारम्भिक शैक्षिक चरणमा वातावरण संरक्षणलाई गम्भीरतापूर्वक लिनुपर्ने समय आएको छ । वातावरण संरक्षणलाई पाठ्यपुस्तकमा अनिवार्य रूपमा समावेश गरिनुपर्छ र विज्ञान, इतिहास, भूगोल र नैतिक शिक्षाजस्ता अन्य विषयसँग अन्तरसम्बन्धित बनाउनुपर्छ । यो एउटा पृथक् विषय हुनुहुँदैन, बरु विद्यार्थीले संसारलाई हेर्न मद्दत गर्ने एक प्रकारको धागो हुनुपर्छ । विद्यार्थीले खेल्दा र काम गर्दा सान्दर्भिक सिप सिक्ने र ज्ञान ग्रहण गर्ने वातावरण संरक्षण अभ्यास आधार निर्माण गर्न थप लगानी आवश्यक छ ।
बालबालिकालाई वातावरणमैत्री बनाउन विद्यालय र अभिभावकबिच पनि घनिष्ठ सहकार्य हुनुपर्छ । वातावरणीय अध्ययनका विशेषज्ञ शिक्षकले विषयमा गहिराइ र स्थिरता ल्याउन सक्छन् भने अन्य विषयका शिक्षकले आफ्ना पाठमा वातावरणीय दृष्टिकोण समावेश गर्न वातावरण संरक्षणको ज्ञानले सुसज्जित हुनुपर्छ । अर्थात्, अन्य विषयका शिक्षकबाट पनि वातावरणमैत्री ज्ञान प्रवाह भएमा बालबालिकामा यसबारे थप चेतना बढ्छ । वातावरण संरक्षण शिक्षा किंडरगार्डेनदेखि नै सुरु गर्नुपर्छ, तब मात्र बालबालिकामा यसबारे गहिरो ज्ञान प्राप्त हुन्छ । त्यो प्रारम्भिक उमेरमा सिकेका बानी व्यक्तिसँग सधैँभरि रहन्छन् । यो रणनीतिका दोहोरो फाइदा हुनेछन् । वातावरण संरक्षणको अवधारणाको प्रारम्भिक परिचयले बच्चालाई वातावरणको जीवन संरक्षक बनाउनेछ ।
मलाई आशा छ कि राम्रो शिक्षाको साथ, हाम्रा बच्चा बलियो वातावरण संरक्षक बन्नेछन्, जसले हाम्रो आकाश निलो, हाम्रो पानी कञ्चन र हाम्रा मानिस बोटबिरुवा र जनावरप्रति बढी मैत्रीपूर्ण बनून् भन्ने मनन गर्नेछन् ।
लेखक चाइना डेलीका पूर्वउपप्रधान सम्पादक हुन् ।
चाइना डेलीबाट