संकल्प इन्भेस्टमेन्ट प्रालिले ‘एभरेस्ट कफी बिन्स’को फ्रेन्चाइज लिएको छ। संकल्प इन्भेस्टमेन्टले आफ्नो पहिलो लगानीको रूपमा ‘एभरेस्ट कफी बिन्स’को फ्रेन्चाइज लिएको हो।
‘एभरेस्ट कफी बिन्स’को पनि यो पहिलो फ्रेन्चाइज बिक्री हो। एभरेस्ट ग्रुप अफ कम्पनीजले ‘एभरेस्ट कफी बिन्स’ सञ्चालन गर्दै आएको छ। त्यसमा कम्पनीले पहिलोपटक फ्रेन्चाइज बिक्री गरेको हो।
संकल्प इन्भेस्टमेन्टले फ्रेन्चाइज लिएर काठमाडौंको अनामनगरमा सेवा शुभारम्भ गरिसकेको छ। अनामनगरको सिंहदरबार पूर्वीगेटमा स्थापना गरिएको ‘एभरेस्ट कफी बिन्स’को शुक्रबार औपचारिक उद्घाटनसमेत हुँदै छ। यो ‘एभरेस्ट कफी बिन्स’को पहिलो फ्रेन्चाइज र सातौँ आउटलेट हो। संकल्प इन्भेस्टमेन्टको लगानी रहेको यस आउटलेटलाई सञ्चालन भने एभरेस्ट ग्रुप अफ कम्पनीले नै गर्नेछ।
संकल्प इन्भेस्टमेन्टका अध्यक्ष कृष्ण अर्यालले पहिलो लगानीको रूपमा ‘एभरेस्ट कफी बिन्स’को फ्रेन्चाइज लिएको बताए। ‘गुणस्तर र सेवामा हामीलाई एभरेस्ट कफी बिन्स उत्कृष्ट लाग्यो। तसर्थ, हामीले हाम्रो समूहको पहिलो लगानीको रूपमा यसको फ्रेन्चाइज लिएका छौँ,’ उनले भने, ‘आगामी दिनमा पनि यसको फ्रेन्चाइज लिएर अन्य ठाउँमा सेवा शुभारम्भ गर्छौँ।’
एभरेस्ट ग्रुप अफ कम्पनीजका अध्यक्ष प्रेम सेन सुनारले एभरेस्ट कफी बिन्सको फ्रेन्चाइज बिक्री गर्न सुरु गरेको बताए। यही अवसरमा अब थप पाँचवटा फ्रेन्चाइज बिक्रीमा कुनै पनि शुल्क नलिने पनि उनको भनाइ छ।
‘लगानीकर्तालाई हौसला प्रदान गर्न थप पाँच वटा फ्रेन्चाइज निःशुल्क दिनेछौँ। सञ्चालन तथा व्यवस्थापनको काम पनि हामीले गर्नेछौँ,’ उनले भने, ‘न्यूनतम २० लाख रुपैयाँको लगानीमा हाम्रो मापदण्डअनुसार एभरेस्ट कफी बिन्सको आउटलेट सञ्चालन गर्न सकिनेछ।’
हालसम्म सातवटा आउटलेट विस्तार गरेको एभरेस्ट ग्रुप अफ कम्पनीजले आठौँ आउटलेट कलंकीमा स्थापना गर्दै छ। युवा व्यवसायी तथा एभरेस्ट ग्रुप अफ कम्पनीजका अध्यक्ष प्रेम सेन सुनारले २०८० चैत १९ गते काठमाडौंको मैतीदेवीमा एभरेस्ट कफी बिन्सको पहिलो आउटलेट स्थापना गरेका थिए। तीन वर्षको अवधिमा एभरेस्ट कफी बिन्सको सातवटा आउटलेट सञ्चालनमा आइसकेको छ।
एभरेस्ट कफी बिन्समा कफीसँगै बेकरी आइटम र विभिन्न प्रकारका खाजा पनि उपलब्ध हुनेछन्। एभरेस्ट ग्रुपले कफी र यससम्बन्धी हस्पिटालिटीमा तथा तालिममा लगानी गर्दै आएको छ। साथै, रोस्टेट कफी बिन्सको व्यापारसमेत गर्दै आएको छ।