दाङको बबई गाउँपालिका– ४, चितलगैरा सामुदायिकस्थित वनमा मृत भेटिएकी सोही ठाउँकी १४ वर्षीया किशोरी अनु खत्री मृत्यु प्रकरणमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका– ८ निवासी २७ वर्षीया नवीन भनिने निभा साहलाई पक्राउ गरी अनुसन्धान गरिएको छ ।
उनीविरुद्धको अनुसन्धान सकेर हाल अदालतमा मुद्दा चलिरहेको छ । सरकारी वकिल कार्यालय दाङले १५ वैशाखमा अदालतमा मुद्दा पेस गरेको थियो । त्यस क्रममा निभाले प्रहरीसँग आफू महिला भएको बयान दिएकी छिन् । ‘म महिला हुँ, म सानो उमेरदेखि महिलाप्रति आकर्षण हुन्थ्यो,’ उनको बयान छ, ‘त्यसैले म यौन तथा लैंगिक अल्पसंख्यक समुदाय‘एलजिबिटिक्यू’मा समेत आबद्ध थिए।’
यस्तो छ निभाले प्रहरीलाई दिएको बयानको संक्षेप
अनु खत्रीसँग टिकटकमा निभाको सम्पर्क भएको थियो । ०८२ कात्तिकमा टिकटकमा भेट भएर फोन नम्बर साटफेर भयो । त्यसपछि सामाजिक सञ्जालमै नियमित कुराकानी भएपछि उनीहरू प्रेममा परे । निभा भेट्नका लागि भनेर मंसिरमा अनुको घरसमेत आएकी थिइन् । एक दिन घर बसेपछि आफू पुनः जनकपुर फर्किएको निभाको बयान छ । पछि उनीहरूबिच विवाह गर्ने सहमति भएपछि पुसमा घरमै आएर अनुलाई जनकपुर लिएर गएको उनले प्रहरीसमक्ष बयान दिएकी छिन् ।
उनीहरू एक महिनाभन्दा बढी जनकपुर कोठा भाडामा बसे । त्यसपछि दुवैजना माघ २९ गते अनुको घरमा आए। माघ ४ गते उनीहरू जनकपुर फर्किने भनेर हापुरेबाट तुलसीपुर पुगेको अवस्थामा आफन्तीले तुलसीपुर बसपार्कबाट फर्काएर लिएका थिए । अनुलाई फर्काएपछि आफू जनकपुर गएको निभाको बयान छ। त्यसपछि चैत १३ गते पुनः अनुलाई लिन निभा घरमै आइन् । त्यतिवेला अनुको कक्षा ८ को परीक्षा चलिरहेको थियो।
उनले परीक्षा दिने विद्यालयको नजिकै पगेर अनुको मामाको छोरीलाई निभाले फोन गरेर अनुसँग सम्पर्क गरिन् । ११ः५० तिर उनले मामाको छोरीलाई फोन गरेपछि त्यसको केही समयमा अनुसँग भेट भयो । नजिकको शिव मन्दिरमा भेट भएका उनीहरू त्यहाँबाट भ्यूटावर जाने सल्लाह भयो। जाँदै गर्दा उनीहरूबिचमा जंगलमा बसेर कुराकानी गरे । त्यस क्रममा सोही दिन दिउँसो ३ बजेतिर अनुले म तिमीसँग छुट्टिएर बस्न सक्दिनँ भनेको कुरा निभाले बयान दिएकी छिन् । त्यही विषयलाई लिएर यो घटना भएको उनको बयान छ ।
अनुको मृत्युपछि निभा हिँड्दै हापुरे बजार आइन् । हापुरेबाट तुलसीपुर–घोराही हुँदै घोराहीबाट साढे ६ बजेको बस चढेर महेन्द्रनगर पुगेको उनको बयान छ । ‘त्यसपछि महेन्द्रनगरबाट पुनः १५ गते बिहान हापुरेस्थित घटनास्थल पुगेँ,’ उनले भनेकी छन्, ‘मैले अनुलाई घटनास्थलमा मृत देखेपछि जनकपुर फर्किएँ, त्यही क्रममा घोराही पुगेको वेला टिकटकबाट अनुको बहिनी समीक्षा डाँगीलाई म्यासेज गरेँ ।’
बुटवल पुग्दै गर्दा निभाले अनुको बुबालाई पनि म्यासेज गरेको बयान दिएकी छन् । त्यही क्रममा १६ गते बिहान काठमाडौं पुगेर १८ गते जनकपुरस्थित साथीको घरमा गइन । त्यसपछि पुनः १९ गते काठमाडौं गएको अबस्थामा साँझ साढे ७ बजेतिर प्रहरीले आफूलाई पक्राउ गरेको निभाको बयान रहेको छ ।
अनुको शव चैत १६ गते भेटिएको थियो । त्यसको तीन दिन पछि निभालाई पक्राउ गरिएको हो । निभाले आफूले पनि पटक–पटक आत्महत्या गर्न प्रयास गरेकोसमेत बयान दिएकी छन् ।