अमेरिकी ब्रान्ड ब्ल्याक प्लस डेकरले नेपाली बजारमा आफ्ना विभिन्न आठवटा मोडेलका एयर कुलर बजारमा ल्याएको छ । कम्पनीका अनुसार यी कुलरहरू दक्षता, प्रयोगकर्तामैत्री प्रविधि र आकर्षक डिजाइनका कारण लोकप्रियसमेत बनेका छन् । सिजी इलेक्ट्रोनिक्सअन्तर्गतको ब्ल्याक प्लस डेकरले उपभोक्तालाई घरभित्रको वातावरण शीतल र स्वच्छ राख्न सहयोग गरेको छ ।
कुलरमा प्रयोग गरिएको युभी–ग्रेड पोलिमर बडीले चर्को घाममा पनि उपकरण चर्किने वा रङ उड्ने समस्याबाट छुटकारा दिनेछ । साथै, वर्षौँसम्म नयाँजस्तै मजबुत रहने कम्पनीको दाबी छ । यसैगरी, प्रिमियम ह्वाइट डिजाइनमा उपलब्ध यी कुलरले आधुनिक घरको सजावटमा समेत आकर्षण थप्ने कम्पनीको भनाइ छ । कम आवाजमा सञ्चालन हुने एरोडाइनामिक फ्यान प्रविधिका कारण सुत्दा वा काम गर्दा असहजता नहुने बताइएको छ ।
त्यस्तै, एन्टिब्याक्टेरियल हनिकोम्ब प्याडले हावामा रहेका सूक्ष्म कण तथा ब्याक्टेरियालाई फिल्टर गरी स्वच्छ हावा प्रवाह गर्ने र इन्भर्टर कम्प्याटिबल मोटरले कम विद्युत् खपत गर्ने विशेषता पनि यी कुलरमा समावेश गरिएको कम्पनीले बताएको छ । कम्पनीले व्यक्तिगत कोठादेखि ठुला हलसम्मका लागि विभिन्न क्षमताका आठवटा मोडेल किबो (३०/४५ लिटर), निबो (५५ लिटर), कमेट प्लस (६५/८५/१०५ लिटर) र लोत्से प्लस (६५/८५ लिटर) बजारमा ल्याएको जनाएको छ । कम्पनीले आफ्ना एयर कुलरमा एक वर्षको वारेन्टी सुविधा उपलब्ध गराउनुका साथै देशव्यापी सेवा सञ्जालमार्फत बिक्रीपछिको सेवा पनि सुनिश्चित गरेको जनाएको छ ।