वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने पाँचजना पक्राउ

बुधबार, २३ बैशाख, २०८३
डिजिटल संस्करण

आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौँ बुढानीलकण्ठ नगरपालिका– ११ बस्ने बागलुङ काठेखोला गाउँपालिका– ३ घर भएका २२ वर्षीय सन्दीप थापामगर, काठमाडौँ महानगरपालिका– ३ बस्ने ४३ वर्षीय नीरबहादुर कार्की, काठमाडौँ महानगरपालिका– ९ बस्ने सर्लाही चक्रघट्टा गाउँपालिका– २ घर भएका ३९ वर्षीय विजयकुमार यादव, काठमाडौँ चन्द्रागिरी नगरपालिका– ५ बस्ने ३७ वर्षीय चिरञ्जीवी अधिकारी र काठमाडौँ बुढानीलकण्ठ नगरपालिका– ११ बस्ने रामेछाप लिखु तामाकोशी गाउँपालिका– १ घर भएका ३० वर्षीय प्रवेश गुरुङ रहेका छन् । 

पक्राउ परेकामध्ये सन्दीपले माल्टा पठाइदिन्छु भन्दै एकजना पीडितबाट १२ लाख रुपैयाँ, नीरबहादुरले क्रोएसिया पठाइदिन्छु भन्दै आठजना पीडितहरूबाट दुई लाख २५ हजार रुपैयाँ, विजय कुमारले कतार पठाइदिन्छु भन्दै एकजना पीडितबाट दुई लाख २० हजार रुपैयाँ, चिरञ्जीवीले क्यानडा पठाइदिन्छु भन्दै तीनजना पीडितहरूबाट ३० लाख रुपैयाँ र प्रवेशले मकाउ पठाइदिन्छु भन्दै एकजना पीडितबाट पाँच लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सन्दीप र विजय कुमारलाई काठमाडौँ महानगरपालिका– १२ बाट तथा नीरबहादुरलाई काठमाडौँ महानगरपालिका– १३ बाट सोमबार, चिरञ्जीवीलाई काठमाडौँ महानगरपालिका– ११ बाट र प्रवेशलाई काठमाडौँ महानगरपालिका- १२ बाट मंगलबार पक्राउ गरेको हो।  

सुझावित समाचार