- चालू विश्वकप क्रिकेट लिग २ सिरिजमा दुवैपटक युएईलाई हराउँदा नेपालले ओमानसँग समान एक जित र हार निकाल्यो
आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत ओमान र युएई सम्मिलित त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले आठमध्ये ६ अंक बटुल्न सफल भएको छ । दोस्रो सिजनको विश्वकप लिग २ सिरिजमा पहिलोपटक नेपालले चारमध्ये तीन खेलमा जित निकालेको हो । यसअघिका सिरिजमा नेपालले सर्वाधिक चार अंक जोडेको थियो । योपटक कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले महत्वपूर्ण ६ अंक जोडेको हो ।
नेपालले मंगलबार ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरी अंकतालिकाको तेस्रो स्थानमा रहेको ओमानमाथि सानदार ८१ रनको जित निकालेको हो । नेपालको जितमा ब्याटिङतर्फ आसिफ सेख र बलिङमा गुल्सन झाले उत्कृष्ट प्रदर्शन गरेका थिए । नेपालले यसअघि युएईलाई दुवै खेलमा हराएको थियो । ओमानसँग भने नेपालले समान एक हार र जित नतिजा हात पारेको छ ।
नेपालले २४ खेलबाट १८ अंक जोडेको छ । आठ टोली सहभागी विश्वकप लिग २ मा यसपटक ६ अंक जोडे पनि नेपालको स्थान परिवर्तन भएन । नेपाल सातौँ स्थानमै यथावत् छ । चालू सिरिजमा नेपालले युएईलाई पहिलो खेलमा ३६ रन र दोस्रो खेलमा डकवर्थ लेविस नियमअनुसार ६ रनले हराएको थियो । ओमानसँगको पहिलो खेलमा नेपाल १०२ रनले फराकिलो अन्तरले पराजित भएको थियो । आफ्नो अन्तिम खेलमा जित निकाल्दै नेपालले ओमानमाथि पछिल्लो हारको बदलासमेत लिएको छ । अब नेपालले अमेरिका र स्कटल्यान्ड सम्मिलिति विश्वकप लिग २ कै अर्को सिरिज खेल्दै छ । यो पनि त्रिवि क्रिकेट मैदानमा आगामी २९ वैशाखदेखि सुरु हुँदै छ । सो सिरिजमा पनि नेपालले उत्कृष्ट प्रदर्शन गरी अंकतालिकामा सुधार गर्ने प्रयास बनाएको छ । विश्वकप लिग २ को तालिकामा अमेरिका शीर्ष स्थान र स्कटल्यान्ड दोस्रो स्थानमा छ । अमेरिकाले २४ खेलमा सर्वाधिक ३६ अंक जोडेको छ । स्कटल्यान्डले २८ खेलबाट ३४ अंक हात पारेको छ । ओमानले २८ खेलमा ३१ अंक हात पारेको छ । अंकतालिकामा युएई १४ अंकका साथ पुछारमा छ । नेपालले युएईविरुद्ध चार अंकको अग्रता लिएको छ ।
आसिफ र अर्जुनको शतकीय साझेदारी
पहिलो ब्याटिङ गरेको नेपालको सुरुवात गतिलो भएन । ओपनर विनोद भण्डारी शून्य रनमा आउट भए । उनी आउट हुँदा नेपालले स्कोर बोर्डमा केवल एक रन मात्र बनाएको थियो । दोस्रो एकदिवसीय खेल खेलिरहेका अर्जुन कुमाल र आसिफ सेखबिच दोस्रो विकेटका लागि १२२ रनको शतकीय साझेदारी भयो । अर्जुन र आसिफले नेपाललाई २७.५ ओभरसम्म १२३–२ को स्थितिमा राखे । उनीहरूले इनिङ्सको मध्यसम्म आफ्नो विकेट जोगाए पनि नेपालको रनरेट भने ४.६५ रहेको थियो ।
अर्जुन अर्धशतकीय इनिङ्स खेल्न दुई रनले चुके । अर्जुनले ८७ बलमा चार चौका प्रहार गरी ४८ रनको योगदान दिए । उनलाई हसैन साहले क्याचआउट गराए । आसिफ र अर्जुनले १६० बलसम्म साझेदारी गरेका थिए । लगातार कप्तान रोहित पौडेलले गतिलो योगदान दिन सकेनन् । रोहित र आसिफबिच तेस्रो विकेटका लागि २२ बलमा १८ रनको साझेदारी भएको थियो । रोहितले १६ बलमा नौ रन बनाए । पहिलो दुई खेलमा अर्धशतक तथा तेस्रोमा शतकीय इनिङ्स खेलेका उपकप्तान दीपेन्द्रसिंह ऐरीले आसिफसँग चौथो विकेटका लागि १८ बलमा २२ रनको साझेदारी गरे । योपटक नेपालले ओपनर आसिफलाई गुमाएको थियो ।
आसिफ शतकीय इनिङ्स खेल्न ६ रनले पछि परे । नदिम खानको ओभरमा उनले आफ्नो विकेट गुमाएका थिए । ९४ रनमा पेभेलियन फर्कनुअघि आसिफले सात चौका र पाँच छक्का प्रहार गरेका थिए । उनी आउट हुँदा नेपाल ३४.३ ओभरमा १६३–४ को स्थितिमा थियो । दीपेन्द्रसिंहले गुल्सन झासँग पाँचौँ विकेटका लागि ४६ बलमा ३२ रनको साझेदारी गरे । दीपेन्द्रसिंह योपटक भने अर्धशतकीय इनिङ्स खेल्न सकेनन् । उनले ४२ बलमा ३३ रन बनाए ।
नेपालको पुछारको ब्याटिङमा आरिफ सेखले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले २४ बलमा चार छक्का र एक चौकाको सहयोगमा ४३ रन बनाए । आसिफले एकदिवसीय क्रिकेटमा १४औँ अर्धशतकीय इनिङ्स खेलेका थिए । उनले ६६ एकदिवसीयमा १ शतक पनि लगाएका छन् ।
गुल्सनको ५ विकेटमा ओमान धराशायी
पहिलो ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाएर २५६ रनको मध्यम योगफल बनाएको थियो । ओमानका ब्याट्सम्यानले नेपालका सिमर गुल्सनको घातक बलिङ सामना गर्न नसक्दा पूरै ५० ओभर ब्याटिङ गर्न सकेनन् । ओमानको पूरै टोली ३९.५ ओभरमै १७५ रनमा समेटिएको थियो । गुल्सनले ९ ओभरमा ३८ रन खर्चेर पाँच विकेट हात पारेका थिए । यसैगरी करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र दीपेन्द्रसिंहले समान एक विकेट लिए । सन्दीपले आफ्नो १४३औँ एकदिवसीय विकेट पूरा गरेका छन् ।
गुल्सनले आफ्नो एकदिवसीय बलिङ रेकर्डमा सुधार गरेका छन् । उनले दोस्रोपटक ५ विकेट लिए । उनले सन् २०२४ सेप्टेम्बरमा क्यानडामा भएको विश्वकप लिग २ मै ओमानविरुद्ध १० ओभरमा २ मेडन राख्दै ४७ रन खर्चेर ५ विकेट लिएका थिए । मंगलबार ओमानका लागि विकेटकिपर विनायक शुक्लाले सर्वाधिक ३६ रन बनाए । उनले ४१ बलमा तीन चौका र २ छक्का प्रहार गरेका थिए । हम्मद मिर्जाले ३४ रन तथा हसनैन वाहावले २९ रन बनाए । अघिल्लो खेलमा नेपालविरुद्ध शतकीय इनिङ्स खेलेका कप्तान जतिन्दर सिंह १२ रनमा आउट भए ।