आइसिसी पुरुष विश्वकप लिग २ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपाल विजयी भएको छ। त्रिवि क्रिकेट मैदानमा मंगलबार नेपालले ८१ रनको जित दर्ता गर्दै ओमानसँग अघिल्लो हारको बदला लिएको हो।
नेपाल, युएई र ओमानबिच जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल यसअघि एक खेलमा ओमानसँग १०२ रनको फराकिलो अन्तरले पराजित भएको थियो। चालू सिरिजमा नेपालले दुवै भेटमा युएईमाथि भने जित निकालेको छ।
मंगलबार गुल्सन झाको उत्कृष्ट बलिङमा २५७ रनको लक्ष्य पछ्याएको ओमानलाई नेपालले १७५ रनमै अलआउट गरेकाे हाे। ओमानका विनय शुक्लाले ३६, हम्मद मिर्जाले ३४ तथा हस्नैन वहाबले २९ रन बनाउनुबाहेक अन्य खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
ओमानलाई सस्तैमा समेट्न गुल्सन एक्लैले पाँच विकेट लिए। उनले नौ ओभरमा ३८ रन मात्र खर्चिए। करन केसी, नन्दन यादव, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट निकाले।
यसअघि एक बलअगावै अलआउट हुनुअघि आशिफ शेखको उत्कृष्ट ब्याटिङमा नेपालले २५६ रनको योगफल खडा गरेको थियो। आशिफले ९७ बलमा ९४ रन बनाउँदा अर्जुन कुमालले ४८ रनको योगदान गरे। आरिफ शेखले २४ बलमै ४३ रन प्रहार गर्दा दीपेन्द्रले ३३ तथा गुल्सनले १७ रन जोडे। ओपनर विनोद भण्डारी र करण पहिलो बलमै पेभेलियन फर्किए।