प्रिमियरको उद्यमशील प्रदर्शनीमा व्यावसायिक प्रस्तावदेखि लगानीसम्म

मंगलबार, २२ बैशाख, २०८३
डिजिटल संस्करण

प्रिमियर इन्टरनेसनल आइबी कन्टिनम स्कुलद्वारा उद्यमशील प्रदर्शनी कार्यक्रम आयोजना गरेको छ । सो कार्यक्रमले युवा नवप्रवर्तक, उद्योग क्षेत्रका विद्वान् तथा अभिभावकलाई एकै स्थानमा ल्याएको थियो । साथै, विद्यार्थीद्वारा सञ्चालित व्यावसायिक अवधारणाको प्रेरणादायी प्रस्तुति पनि दिइएको थियो ।  

कार्यक्रममा कक्षा ११ का एनइबी व्यवस्थापनका विद्यार्थी र आइबिडिपी प्रथम वर्षका विद्यार्थीले स्थानीय नेपाली स्रोतमा आधारित पूर्ण व्यावसायिक अवधारणा निर्माण गरेका थिए । प्रत्येक समूहले आफ्नो व्यावसायिक योजनामा लगानीको अपेक्षा गरेका थिए । यसले वास्तविक स्टार्टअप इकोसिस्टमको अनुभव दिलाउँदै कक्षाकोठाभन्दा बाहिरको व्यावहारिक सिकाइलाई प्रोत्साहन गरेको आयोजक विद्यालयले जनाएको छ ।

कार्यक्रममा ६ वटा नवप्रवर्तनशील व्यावसायिक अवधारणा प्रस्तुत गरिएका थिए । जसमा प्राकृतिक सामग्रीबाट बनेको लामखुट्टे भगाउने मिस्ट, फुरनदाना आधारित स्वास्थ्यकर खाजा र भेगन डेयरी विकल्प उत्पादन शृंखला थिए । यस्तै, परम्परागत ढाका कपडामा आधारित व्यवसाय, सातै प्रदेशका अचारलाई समेट्ने व्यवसाय र दिगो काठजन्य उत्पादनमा आधारित व्यवसायका अवधारणा प्रस्तुत गरिएको हो । यीमध्ये, ढाका कपडामा आधारित व्यवसायलाई सर्वोत्कृष्ट व्यावसायिक प्रस्ताव प्रस्तुति उपाधिसहित प्रमाणपत्र प्रदान गरिएको थियो । 

यस पहलले अनुभवात्मक सिकाइको महत्वलाई उजागर गर्दै विद्यार्थीलाई वास्तविक जीवनका चुनौतीसँग प्रत्यक्ष रूपमा संलग्न गराएको बताइएको छ । कार्यक्रमले युवा पुस्ताको सिर्जनशीलता र उद्यमशील क्षमताका साथै स्थानीय स्रोतको उपयोगमार्फत विश्वस्तरीय समाधान निर्माण गर्न सकिने सन्देश पनि सम्प्रेषण भएको आयोजकको भनाइ छ । 

See More On

सुझावित समाचार