- विश्व बैंकबाट लिइएको सहुलियत ऋणबाट सरकारले उद्योगहरूलाई परम्परागत बोइलरलाई इलेक्ट्रोनिक बोइलरले प्रतिस्थापन गर्न कर्जा दिने
सरकारले उद्योगहरूको परम्परागत बोइलरलाई इलेक्ट्रोनिक बोइलरले प्रतिस्थापन गर्ने कार्यक्रमका लागि विश्व बैंकबाट पौने आठ अर्ब रुपैयाँ सहुलियत ऋण लिने भएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले विश्व बैंकबाट प्राप्त हुने पाँच करोड २० लाख अमेरिकी डलर सहुलियत ऋण र ५० लाख अमेरिकी डलर अनुदान स्वीकार गर्ने निर्णय गरेको हो ।
हाल इँटालगायत विभिन्न क्षेत्रका उद्योगहरूले कोइलालगायतका ऊर्जा प्रयोग गरेर परम्परागत रूपमा बोइलर प्रयोग गर्दै आएका छन् । त्यस्ता परम्परागत बोइलरलाई विद्युतीय (इलेक्ट्रोनिक्स)ले प्रतिस्थापन गर्ने सरकारले कार्यक्रम अघि सारेको छ । कार्यक्रमअन्तर्गत बोइलर प्रतिस्थापनका लागि विश्व बैंकबाट प्राप्त कर्जा कार्यविधि बनाएर सरकारले उद्योगहरूलाई ऋण दिनेछ ।
‘परम्परागत बोइलरलाई इलेक्ट्रोनिकले प्रतिस्थापन गर्न उद्योगहरूलाई कर्जा उपलब्ध गराउने र वायु गुणस्तर मापन क्षमता बढाउने प्रयोजनका लागि विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलरबराबरको सहुलियत ऋण तथा पाँच मिलियन अमेरिकी डलरबराबरको अनुदान स्वीकार गर्ने निर्णय गरेको छ,’ मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको अमेरिकी डलरको खरिद मूल्यअनुसार विश्व बैंकबाट प्राप्त हुने सहुलियत ऋण सात अर्ब ८८ करोड ११ लाख रुपैयाँ र अनुदान ७५ करोड ७८ लाख रुपैयाँबराबर हुन्छ ।