थुनामा रहेकी म्यानमारकी पूर्वनेतृ आङ सान सुकीलाई नजरबन्दमा सारिएको त्यहाँको सत्तारूढ सेनाले जनाएको छ । ८० वर्षीया नोबेल पुरस्कार विजेता सुकीलाई २०२१ मा सैन्य विद्रोहमा पदमुक्त गरेदेखि नै राजधानी ने पि ताबको सैन्य जेलमा राखिएको थियो । विद्रोहको नेतृत्व गर्ने सैन्य नेता मिन आङ ह्लाइङको एक विज्ञप्तिमा उल्लेख गरिएअनुसार उनले ‘आफ्नो बाँकी सजाय तोकिएको निवासमा बिताउनेछिन् ।’ म्यानमारका तत्कालीन शासकहरूले लोकतान्त्रिक सुधार लागू गरेपछि सन् २०१५ मा आङ सान सुकीको सत्तारोहण भएको थियो । त्यसअघि, उनले लोकतन्त्र समर्थक कार्यकर्ताको रूपमा दशकौँ समय सैन्य शासन बिताइन् र पहिले १५ वर्षभन्दा बढी समयसम्म घरमै नजरबन्दमा राखिएकी थिइन् ।
राज्य सञ्चालित सञ्चारमाध्यमले उनी दुईजना पोसाकधारी कर्मचारीसँग बसेको तस्बिर प्रसारण गरेका छन् । तर, उनका छोरा किम एरिसले भने सरकारको घोषणाप्रति शंका व्यक्त गरेका छन् । उनी जीवित छिन् भन्ने प्रमाण आफूसँग नभएको उनले बताएका छन् । उक्त तस्बिर सन् २०२२ मा भएकाले त्यसको अर्थ नभएको उनले बताए । ‘मलाई आशा छ सेनाको पछिल्लो भनाइ सत्य हो । मैले अझै पनि उनलाई नजरबन्दमा देखाउने कुनै वास्तविक प्रमाण देखेको छैन,’ सुकीका छोरा एरिसको भनाइ उद्धृत गर्दै बिबिसीले लेखेको छ, ‘त्यसैले, जबसम्म उनीसँग सम्पर्क गर्न अनुमति दिइँदैन वा कसैले स्वतन्त्र रूपमा उनको अवस्था र उनको ठेगाना प्रमाणित गर्न सक्दैन, तबसम्म म केही पनि विश्वास गर्दिनँ ।’
सुकीको स्वास्थ्य वा जीवनयापनको अवस्थाका बारेमा केही थाहा नभएको एरिसले डिसेम्बरमा बताएका थिए । उनको कानुनी टोलीले रोयटर्सलाई बताएअनुसार उनलाई घरमै नजरबन्द गरिएको बारेमा कुनै प्रत्यक्ष सूचना दिइएको थिएन । पाँच वर्षभन्दा बढी समयअघि सशस्त्र सेनाले उनको निर्वाचित सरकारलाई अपदस्थ गरेको दिन आङ सान सुकीलाई पक्राउ गरिएदेखि उनीबारे जानकारी नभएको बताइन्छ । उनका वकिलले उनलाई तीन वर्षभन्दा बढी समयदेखि देखेका छैनन् भने उनको परिवारले दुई वर्षभन्दा बढी समयदेखि उनीसँग कुनै सम्पर्क राखेको छैन ।