इरान युद्धका कारण युद्धग्रस्त अन्य देशमा खाद्यान्न पठाउनमा ढिलाइ भएको राष्ट्रसंघले जनाएको छ । युद्धका कारण विश्वको सबैभन्दा ठुलो विस्थापन संकट भएको सुडानमा सहायता पठाउने लागत दोब्बरभन्दा बढी भएको संयुक्त राष्ट्रसंघीय शरणार्थी एजेन्सी (युएनएचआरसी)ले शुक्रबार जनाएको छ ।
हर्मुजको जलमार्गसहित प्रमुख खाडी ढुवानी मार्गवरिपरि बढेको असुरक्षा, बन्दरगाहमा भिडभाड, बढ्दो इन्धनको मूल्य र उच्च बिमा प्रिमियमले विशेष गरी अफ्रिकामा सहायता वितरणमा बाधा पुर्याएको एजेन्सीले जनाएको छ । दुबईबाट हर्मुजको जलमार्ग हुँदै पहिले जाने सहायताका जहाजहरूलाई केप अफ गुड होपवरिपरि युरोपबाट आउने जहाजहरूले प्रतिस्थापन गरिँदै छ, जसले गर्दा डेलिभरी समय २५ दिनसम्म थपिएको छ, युएनएचसिआरका प्रवक्ता कार्लोटा वुल्फले जेनेभामा पत्रकारहरूलाई बताइन् ।
‘अत्यन्तै आवश्यकतामा परेका मानिसहरूले आवश्यकभन्दा ढिलो गरी तयार भएका सामान प्राप्त गरिरहेका छन्,’ उनले भनिन् । दुबईबाट सुडान र छिमेकी चाडमा राहत सामग्रीहरूको ढुवानी सार्नका लागि यातायात लागत दोब्बरभन्दा बढी भएको छ । शरणार्थी निकायका अनुसार ढुवानी लागत नौ लाख २७ हजारबाट बढेर १० लाख ८७ हजार डलर पुगेको छ । संयुक्त राष्ट्र संघले नियमित रूपमा सुडानमा युद्धको कारणले गर्दा भएको मानवीय संकटलाई विश्वको सबैभन्दा ठुलो मानवीय संकटको रूपमा उल्लेख गर्दै आएको छ ।
दुबई हबले युएनएचसिआरको राहत सामग्रीहरूको सबैभन्दा ठुलो विश्वव्यापी भण्डार गर्दछ । यो विश्वभरका सात भण्डारमध्ये एक हो, जसमध्ये अन्य कोपनहेगन, नैरोबी, डुआला, अक्रा, पानामा सिटी र टर्मेजमा छन् । ‘स्थलमार्गमा बढ्दो निर्भरताले ट्रकको अभाव र उच्च यातायात लागतलाई पनि बढाइरहेको छ,’ उनले थपिन् । केन्याको नैरोबीमा इन्धनको मूल्य लगभग १५ प्रतिशतले बढेको छ, जसले गर्दा ढिलाइ भएको छ र इथियोपिया, प्रजातान्त्रिक गणतन्त्र कंगो र दक्षिण सुडानमा ढुवानीका लागि ट्रकहरूको उपलब्धता घटेको छ । युएनएचसिआरले बढ्दो इन्धन मूल्य र मलको अभावले खाद्यान्नको मूल्य बढाइरहेको र खाँचोमा परेका मानिसहरूको जीवन लागत बढाएको जनाएको छ ।