ग्राहकलाई चिया नास्ता बनाएर खुवाउन पूर्वजनमुक्ति सेना व्यस्त छिन्। मान्छेको जीवन कहाँबाट कहाँ पुग्छ कसैलाई थाहा हुँदैन। जनमुक्ति सेना बनेर युद्ध लड्छु भनेर सोचेकी थिइन । परिस्थितिले हातमा बन्दुक थमाइ दियो । त्यसबेला कापीकलम भन्दा मलाई बन्दुक प्यारो लाग्यो।
बन्दुक बोकेर युद्धमा मैदानमा होमिए। अहिले जीवनयापनका लागि चिया र नास्ता पसल चलाइरहेकी छु राजापुर नगरपालिका, ४ की जसन्ती थारुले बताइन् । उनले भनिन्, ‘ जनमुक्ति सेना हुँदा १४ वर्षकी थिए । मेरो घर भारतीय सिमा क्षेत्रसँग जोडिएको थियो । त्यसबेला गाउँमा भारतबाट आउने डाँका र गाउँका जमिनदारले दिएको दुःखको विरुद्ध लड्नुपर्छ भनेर जनमुक्ति सेना बने । २०५९ सालमा मैले बन्दुक बोके र विद्रोहको बाटो रोजे । विद्रोहको बाटो रोज्नु मेरो लागि रहर भन्दा बढी बाध्यता थियो ।’ त्यसबेला गाउँमा सामन्त थिए । जमिनदार थिए । उनीहरूको हातमा सत्ता, शक्ति र जमिन थियो । उनीहरूको पहुँच राज्यसँग थियो । गाउँमा गरिब निमुखा भुइँमान्छेहरू त्रासमा बाँच्नुपर्ने बाध्यता थियो । कहिँकतै रोजगारीको अवसर थिएन ।
अहिले जस्तो त्यसबेला वैदेशिक रोजगारीको लागि बाहिर जाने चलन पनि खासै थिएन । जसले गर्दा जमिन नभएका भुइँमान्छेहरू सामन्त र जमिनदारको घरमा हरुवाचरुवा, हलिया, कमैया कमलरी भएर बस्न बाध्य थिए ।
त्यसबेला भुइँमान्छेलाई बाँच्न सहज थिएन। दिनभरि काम गरे पनि खानलाउन समस्या नै थियो । त्यसमाथि जमिनदारले भुइँमान्छेलाई गर्ने व्यवहार अमानवीय थियो । प्रायः गाउँका भुइँमान्छेहरु जमिनदारको घरमा काम गर्ने गरेको थिए । त्यसबेला औँलामा गन्न सकिने जति मात्र कमाउनका लागि भारतको विभिन्न सहर जाने गरेको उनले बताइन् ।
छोरी मान्छेलाई अहिले जस्तो पढाउने, लेखाउने चलन थिएन । तर बसन्तीले कक्षा ५ सम्म पढ्ने अवसर पाइन् । तर बसन्तीको दिदीले भने त्यो अवसर पाइनन् । जसले गर्दा बसन्तीको दिदीले अर्काको घरमा काम गरिन् । काम गर्दागर्दै दिदीले बिहे गरिन् ।
बसन्तीको दिदीले झैँ बुवा र हजुरबुवा पनि जमिनदारको खेतबारी र घरमा काम गरे । जति काम गरेपनि बसन्तीको परिवार कहिले पनि मिठो खान पाएनन् । राम्रो लाउन पाएनन् । जमिनदारको घरमा काम गर्दा परिवारको सदस्यले पाएको यातना र तुच्छ बचनले बसन्तीको बाल मनोविज्ञानमा विद्रोहको झिल्को बल्न थालेको थियो ।
उनले भनिन्, ‘त्यस बेला भुइँमान्छेको सारथी बनेर जनवादी कलाकार आए । प्रायः रातको समयमा आएर सांस्कृतिक कार्यक्रम गरे । जनवादी गीतको माध्यमबाट अन्याय, अत्याचार र विभेद र वर्णसंर्घणका लागि आवाज उठाउनु पर्छ भन्ने सन्देश दिए । जनवादी कलाकारको प्रस्तृती हेरेपछि मलाई गाउँमा जमिनदारहरू खलनायक लाग्न थाले । अनि बिस्तारै गाउँमा जमिनदारको संरक्षण गर्ने राज्यको विरुद्धमा संर्घण गर्नुपर्छ भन्ने लाग्यो । अनि मैले जनमुक्ति सेना हुने बिचार गरे । कापीकलम र किताब फालेर हतियार बोकेर युद्धको मोर्चामा हिँडे ।’
जनमुक्ति सेना भएपनि पार्टीले बसन्तीलाई नयाँ नाम दियो कमरेड पूजा । बाउबाजे माथी भएको अन्याय अत्याचार अन्त्य गर्नका लागि व्यवस्था परिवर्तन गर्नपर्छ भनेर एउटा ग्रामिण गाउँको सानी बालिका बसन्तीबाट कमरेड पूजा बनिन् । सानै उमेरमा कमरेड जनमुक्ति सेना भएर काम गर्न थालिन् । हजारौँ भुइँमान्छेको जीवनमा परिवर्तन ल्याउने सपना देख्न थालिन् । कमरेड पुजाले हिँडेको बाटो सजिलो थिएन । त्यसबेला उनले कठिन बाटो रोजिन । त्यसबेला उनले कठिन र अनकन्टार बाटोमा हिड्ने निर्णय लिइन् । पार्टीले दिएको जिम्मेवारी बोकेर उनी युद्धको मैदानमा होमिइन् ।
जनमुक्ति सेना भएपछि पटक पटक प्रहरी र सेनाका युद्ध लडेको कमरेड पूजाले बताइन् । उनले भनिन्, ‘युद्धको गर्नका लागि विभिन्न ठाउँमा जानु पद्थ्यो । सजिलो बाटो जाँदा पक्राउ परिने भएको हुँदा प्राय जंगल र पहाडको बाटो हिँड्नु पद्थ्यो । कतिबेला दुश्मनले फेला परिन्छ भन्ने चिन्ता हुन्थ्यो । त्यसबेला मर्न र मार्न खासै डर लाग्दैन् थियो । युद्ध लड्नका लागि त्यसबेला कैलाली, कञ्चनपुर, कालिकोट, बाजुरा जुम्ला, जाजरकोट लगायत गडकसम्म गए । युद्ध लड्न भन्दा पहिला आक्रमण गर्ने ठाउँको बारेमा सूचना संकलन गर्नुपदथ्यो । करिब एकहप्तासम्म हामीले आक्रमण गर्ने ठाउँका बारेमा रेकी गर्ने गद्थ्यौ । अनि उपयुक्त सयम हेरेर आक्रमण गर्ने गद्थ्यौ ।’
भूमिगत भएर काम गर्दा पार्टीले त्यसबेला साबुन सर्फ र मञ्जन किन्न मासिक दुई देखि पाँच सय रुपैयाँ दिने गद्थ्यो । त्यहीँ पैसाले महिनाभरी खर्च चलाउने गरेको उनले जानकारी दिइन् ।
उनले भनिन्, युद्धमा जाँदा त्यसबेला एउटा मात्र सपना थियो । सामन्तहरूको सफाया गरि भुईमान्छे सत्ता ल्याउने । त्यहीँ भएर पनि होला जहाँ गयो, त्यहीँका स्थानीयले माया गरेर गास, बास कपास दिए । त्यसबेला सामन्त बाहेक गाउँका सबैले जनमुक्ति सेनालाई सहयोग गरे । जनताको साथ सहयोग जनयुद्धमा जनसेनाले पायो ।
उनी करिब चार वर्ष युद्धको मैदानमा होमिइन् । त्यस बीचमा तत्कालिन विदोही पार्टी नेपाली कम्युनिष्ट पार्टी माओवादी र सात राजनितिक दलका बीच दिल्लीमा १२ बुँदे सहमति ७ मंसिर ०६२ मासहमति भयो ।
नेपाली कम्युनिष्ट पार्टी माओवादी र सात राजनितिक दलको बीचमा भएको १२ बुँदे सहमतिको आधारमा २४ दोस्रो जनआन्दोलन २४ चैत ०६२ देखि ११ वैशाख ०६३ सम्म भयो । बैशाख २४ गते पूर्व राजा ज्ञानेन्द्रबीर बिक्रम शाहबाट राष्ट्रका नाममा सम्बोधन भएपछि जनआन्दोलन सकियो ।
आन्दोलन सकिएपछि राजनितिक दलको बीचमा ३ जेठ २०६३ मा प्रतिनिधी सभाको चुनाब गर्ने सहमति भयो । पछि दलहरुले तत्काल चुनाब गर्न नसक्ने भएपछि चुनाब सार्ने सहमति गरे । त्यस बीचमा नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी ९माओवादीको बीचमा विस्तृत शान्ति सम्झौता ५ मंसिर ०६३ मा भयो । त्यसपछि प्रतिनिधी सभाको चुनाब २८ चैत ०६४ मा भयो ।
शान्ति सम्भौता भएपछि जनमुक्ति सेनालाई अस्थायी शिबिरमा राखियो । उनी त्यसबेला कैलालीमा रहेको शिबिरमा बसिन् ।शिबिरमा हुँदा उनले जनमुक्ति सेना कृष्णसँग शिबिरमा नै विवाह गरिन् । त्यसपछि उनको बुढाबुढीले स्वेच्छिक अवकाश निर्णय लिए । २०६५ सालमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भए । स्वेच्छिक अवकाश लिएपछि उनी केही समय पार्टीका अध्यक्षको सुरक्षामा खटिइन् ।
जनमुक्ति सेनाबाट सामान्य जीवनमा फर्किएर समाजमा पूर्नस्थापना हुने कुरा चानचुने थिइन् । स्वेच्छिक अवकाशबाट प्राप्त रकमले केही जग्गा खरिद गरेर उनले खेती किसान गरिन् । पार्टीले दिएको जिम्मेवारी पनि पुरा गरिन् । युद्धको मैदानबाट सामान्य जीवनयापन गर्दै आएकी कमरेड पुजाको जीवनमा अहिले धेरै कुरा फेरिएको छ ।
कमरेड पूजा २०७४ सालमा भएको स्थानीय तहको चुनाबमा राजापुर नगरपालिका वडा, २ को वडा सदस्य बनिन् ।
जनप्रतिनिधी हुँदा नागरिकता अनुसारको उम्मेदवारी दिनुपर्ने भएको हुँदा उनलाई पार्टीले दिएको नाम बिस्तारै हराउदै गयो । पछिल्लो सयम उनलाई सबैले बसन्ती भनेर चिन्न थाले । बसन्तीले पाँच वर्ष वडा सदस्य भएर काम गरिन् । उनको श्रीमान् अटो चलाउने काम गरे । त्यसपछि राजापुर बजारमा एउटा घर बनाए ।
वडा सदस्यको कार्यकाल सकिएपछि बसन्तीले अहिले मालपोत कार्यालय अगाडी बसन्ती चिया, नास्ता पसल खोलेर चलाइ रहेकी छिन् । कुनै बेलाको जनमुक्ति सेना बन्दुक बोक्ने हातहरु अहिले चिया नास्ता बनाउन व्यस्त छन् । जीवन यापनका लागि चिया पसल चलाएको भएपनि बसन्ती अहिले पनि राजनीतिमा सक्रिय छिन् ।
भख्खर सम्पन्न भएको चुनाबमा बर्दियाबाट पार्टीले बसन्तीलाई समानुपातिक सांसदको लागि नाम सिफारिस गरेको थियो । तर अन्तिम नामावली बन्द सुचिमा भने बसन्तीको नाम पर्न सकेन् । उनी अहिले वाइसियलको केन्द्रिय सचिब हुन । उनले भनिन्, ‘हिजोको जस्तो गाउँमा सामान्त जमिनदार छैनन् । राज्य व्यवस्था फेरिएको छ । समानुपातिक र समावेशीको कुरा युद्धले ल्याएको परिवर्तन हो, यसका मलाई गर्व लाग्छ ।
हिजो जस्तो पढाइको अवसरबाट बञ्चित हुनुपर्ने अवस्था छैन् । शिक्षामा धेरै भुँइमान्छेको छोरीको पहुँच पुगेको छ, यो युद्धको उपलब्धी हो । अहिलेसम्म प्राप्त भएको अधिकारका लागि माओवादी लडेको हो । पहिला जनमुक्ति सेना भएर युद्ध लडे । अहिले परिवारको जीवनयापनका लागि चिया नास्ता पसल चलाएकी छु । यसैमा म खुसी छु । पार्टीले समानुपातिक सासदको लागि बन्द सूचिमा नपरे पनि कुने गुनासो छैन्, पद भन्ने कुरा अस्थायी हो, आउँछ जान्छ ।’