मकवानपुरको बागमती गाउँपालिकामा जारी बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा सर्लाहीको बागमती युथ क्लबले साविक विजेता चर्च ब्वाइज युनाइटेडलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ ।
आइतबार बागमती–४ स्थित सहिद स्मृति रंगशालामा भएको खेलमा बागमती युथले चर्च ब्वाइजलाई २–१ गोलले हराएको हो । प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता भने चर्च ब्वाइजले लिएको थियो । खेलको ११औँ मिनेटमा सुशन मगरले गोल गर्दै टोलीलाई अघि बढाएका थिए ।
तर, बागमती युथले उत्कृष्ट पुनरागमन गर्दै खेलमा फर्कियो । खेलको २८औँ मिनेटमा अनिष महर्जनले बराबरी गोल गर्दै खेललाई १–१ को अवस्थामा पुर्याए । निर्धारित समय सकिनै लाग्दा ८८औँ मिनेटमा कप्तान आयुष मगरले पेनाल्टीमार्फत निर्णायक गोल गर्दै बागमतीलाई जित दिलाए ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका बागमती युथका अनिष महर्जन ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । जितसँगै बागमती युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। अब बागमतीले सेमिफाइनलमा फ्रेन्ड्स क्लब (ललितपुर) र प्लानिङ ब्वाइज युनाइटेड काठमाडौंबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
प्रतियोगिताको फाइनल खेल २६ वैशाखमा हुने छ । आयोजकसहित १० टोली सहभागी प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ तथा उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ तथा विधागत उत्कृष्ट खेलाडीहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।