अध्यादेश जारी हुने पूर्वआकलनको भेल छोपेर राजीनामा दिन चाहिनँ : कुलपति राई

सरकारले राज्य संचालनको विधिको लागि अध्यादेशको बाटो रोजेको छ । म त्यो अध्यादेशलाई पूर्णरुपले स्वीकार गर्दै त्यसलाई अन्तिमसम्मै फेस गर्नेछु

आइतबार, २० बैशाख, २०८३
डिजिटल संस्करण

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले अध्यादेश जारी हुने पूर्वआकलनको भेल छोपेर आफूले राजीनामा दिन नचाहेको बताएका छन् । आइतबार सामाजिक सञ्जालमा स्टाटस लेखेर कुलपति राईले  सार्वजनिक पदाधिकारीहरूको पदमुक्तिसम्बन्धी जारी अध्यादेशको नेपाल प्रज्ञा–प्रतिष्ठानको कुलपतिको हैसियतले आफूले  खुला दिलले स्वागत गरेको बताउँदै  विना कुनै हिच्किचाहट, विनाअतिरिक्त मोह आफू पूर्ण तयारीमै रहेको उल्लेख गरेका छन् ।

तर, आफूले  अध्यादेश जारी हुने पूर्वआकलनको भेल छोपेर राजीनामा दिन नचाहेको उल्लेख गर्दै  आफ्नो स्वाभिमानले त्यसो गर्न नदिएको बताए । ‘तत्कालीन नेपाल सरकारले आफूलाई प्रचलित कानुन, विधि र प्रक्रियासम्मत ढंगले त्यहाँ नियुक्त गरेको,  तोकिएको समयावधिसम्म काम गर्ने आफ्नो सार्वभौम अधिकार कसैबाट प्राप्त अनुकम्पा  नभएको बताउँदै उनले भने, ‘तर, यतिखेर नयाँ सरकार फेरिएसँगै नयाँ परिस्थिति फेरिएको छ । सरकारले राज्य सञ्चालनको विधिका लागि अध्यादेशको बाटो रोजेको छ । म त्यो अध्यादेशलाई पूर्ण रूपले स्वीकार गर्दै त्यसलाई अन्तिमसम्मै फेस गर्नेछु ।’

उनले नेपाल प्रज्ञा–प्रतिष्ठानको कुलपतिको हैसियतमा आफूले  तीन वर्ष दुई महिनाको अवधिमा गरेका कामहरूको फेहरिस्त  उचित समयमा जनतासामु सार्वजनिक गर्ने  प्रतिबद्धता जनाएका छन् । यसबिचमा केही महत्त्वपूर्ण निर्णय र आफ्नो कार्यकालभरि गरिएका अनुसन्धान कृतिहरूका प्रकाशन कार्य अधुरा रहने भन्दै दुःख व्यक्त गरे । ‘तिनको दु:ख एक ठाउँमा छँदै छ । तर, दुःखको साथसाथै पनि आफू बहाल हुँदा गरेका सार्वजनिक वृत्तमा बयान गर्न मिल्ने थुप्रै राम्रा कामहरूको सूची मसँग छन्,’ उनले लेखेका छन् ।

आफूले  नेपाल प्रज्ञा–प्रतिष्ठानको ६८ वर्षको इतिहासमै कहिल्यै हुन नसकेका– खासगरी प्राज्ञिक संयन्त्रलाई सबैको साझा थलो बनाउने हेतुले नेपालको भाषिक डाइभर्सिटीलाई सफलतापूर्वक सम्बोधन गरिएको, एकलभाषी संरचनालाई बहुभाषी र समावेशी बनाइएको, प्राज्ञिक र सांस्कृतिक सम्बन्धलाई जनताको जरासम्म विस्तार गरिएको र आर्थिक शुद्धीकरणको क्षेत्रमा दोहोरो भत्ता रोकेको आदि कार्यहरू त्यहाँ रहँदा आफूले गरेका ऐतिहासिक काम भएको दाबी गरेका छन् । उनले  तिनै कामहरूलाई आफ्नो पुँजी बनाएर स्वाभिमानका साथ बिदा हुने प्रतिबद्धता जनाए  ।

सुझावित समाचार