कञ्चनपुरमा अतिक्रमण हटाउने योजना तयार गर्न प्रशासनको निर्देशन

शनिबार, १९ बैशाख, २०८३
डिजिटल संस्करण

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अतिक्रमण हटाउनका लागि स्थानीय सरकार र कार्यालयलाई परिपत्र गरेको छ। १७ वैशाखमा प्रशासनले जिल्लाभरिका सबै स्थानीय तह र कार्यालयहरूलाई परिपत्र गर्दै अतिक्रमण हटाउने योजना तयार गर्न निर्देशन दिएको हो।

सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण अभिलेख व्यवस्थापन गर्नका लागि आफ्नो क्षेत्राधिकार पर्ने सरकारी, सार्वजनिक अतिक्रमित जमिनको पहिचान र जग्गाको यथार्थ विवरण उपलब्ध गराउन निर्देशन जारी भएको हो। प्रशासकीय अधिकृतद्वारा हस्ताक्षर गरेको परिपत्रमा पालिका र अन्य सरकारी कार्यालयलाई यथाशीघ्र विवरण उपलब्ध गराउन भनिएको छ।

कञ्चनपुरमा भूमिहीन, सुुकुमवासी, आरक्षपीडित, बाढीपीडित, मुक्त कमैया, मुक्त हलियादेखि विपन्न नागरिकको उचित व्यवस्थापन नहुँदा सार्वजनिक जग्गा अतिक्रमणमा परेको छ।

यसअघि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पालिकासहित सम्बन्धित सरकारी कार्यालयसँगको समन्वयमा महेन्द्रनगर नगर विकास समिति र पूर्व–पश्चिम राजमार्गको अतिक्रमित जमिन खाली गराएको थियो। साथै बेलौरी नगरपालिकाले ताल, बेलडाँडी गाउँपालिकाले ग्रिनबेल्टको जमिन खाली गराएका थिए।

सुझावित समाचार