दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुको ‘एन्जियोप्लास्टी’ सेवा सुरु भएको छ। मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सूर्य देवकोटाको नेतृत्वमा प्रतिष्ठानमा कार्यरत डा. दिनेश उप्रेतीसहितको टोलीले शुक्रबार दुईजना बिरामीको एन्जियोप्लास्टी गरेको थियो।
पहिलोपटक जिल्लामा यो सेवा सुरु भएसँगै हृदयघात (हर्टअट्याक) भएका बिरामीहरूलाई जिल्लामै सहजै उपचार गर्न सकिने भएको डा. देवकोटाले बताए। उनका अनुसार मुटुको रक्तनलीको उपचार दाङमा पहिलोपटक सुरु हुनु जिल्लाको स्वास्थ्य क्षेत्रका लागि एउटा उपलब्धि हो।
यसअघि मुटुको उपचारका लागि जिल्लाबाहिर जानुपर्ने अवस्था थियो। अब भने यो समस्या हटेको प्रतिष्ठानका निमित्त उपकुलपति तथा रजिस्ट्रार प्रा. श्याम लम्सालले बताए। एन्जियोप्लास्टी उपचार विधिका लागि १० करोडबराबरका सामग्री ल्याइएको छ।
प्रतिष्ठानबाट केही दिनअघि एन्जोयोग्राफी सेवा दिइएको थियो। जुन निदानात्मक उपचार थियो भने शुक्रबार उपचारात्मक सेवा सुरु गरिएको हो। दाङमै यो सेवा सुरु भएपछि जिल्लाबाहिरका बिरामीलाई पनि सेवा दिन सहज हुने प्रतिष्ठानका निमित्त निर्देशक जनार्दन पन्थीले बताए।
पन्थीका अनुसार विपन्न नागरिक औषधि उपचार कोषमा सूचीकृतका लागि निवेदनसमेत पठाएकाले सूचीकृत हुनेबित्तिकै बिरामीलाई प्रतिष्ठानबाटै थप सहजता प्राप्त हुने उनको भनाइ छ। हाल मुटुको उपचारका लागि एक लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने गरेको छ।