बर्दिया राष्ट्रिय निकुञ्जले स्वर्ण महोत्सव भव्य रूपमा मनाएको छ । निकुञ्ज स्थापना भएको ५०औँ वर्ष प्रवेश गरेको अवसर पारेर बर्दिया राष्ट्रिय निकुञ्जले स्वर्ण महोत्सव भव्य रूपमा मनाएको हो ।
स्वर्ण महोत्सवको अवसर पारेर निकुञ्जले निकुञ्ज स्थापनाकालदेखि हालसम्म महत्त्वपूर्ण योगदान पुर्याउने व्यक्तिलाई सम्मान गर्नुका साथै सांस्कृतिक कार्यक्रम, वन्यजन्तुपीडित परिवारका बालबालिकालाई छात्रवृत्ति वितरण, निकुञ्जको आयोजनामा भएको खेलकुद कार्यक्रम सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
स्वर्ण महोत्सवको कार्यक्रममा बोल्दै वन तथा वातावरणमन्त्री गीता चौधरीले मानव र वन्यजन्तुको सहअस्तित्व कायम हुने गरी सरकारले काम गर्न खोजेको बताइन्। पछिल्लो समयमा मानव–वन्यजन्तुबिच द्वन्द्व बढिरहेको छ । वन्यजन्तुबाट समुदायलाई जोगाउन लठ्ठी र र सिटीभन्दा पनि वैज्ञानिक र आधुनिकीकरण उपाय आवश्यक रहेको हुँदा सरकारले सोहीअनुरूप काम गर्ने मन्त्री चौधरीले बताइन् ।
उनले भनिन्, ‘वन्यजन्तुको संरक्षण गर्दा मानव सुरक्षा, समस्या र जीविकोपार्जनलाई बिर्सिनहुँदैन । मध्यवर्ती क्षेत्रको विकास र जलवायु परिवर्तनका प्रभावहरूको, चोरी सिकार र अवैध व्यापारलाई चुनौतीको रूपमा रहेको छ । यसलाई सुधार गर्नका लागि आवश्यक नीति नियममा सुधार गर्ने, बजेट व्यवस्थापन गर्ने र विकासका कुरालाई सँगसँगै लैजाने प्रतिबद्धता व्यक्त गर्दछु ।’
स्थानीयले निकुञ्जको संरक्षण मात्र होइन, लाभ पनि पाउनुपर्ने र प्रकृति हाम्रो सम्पत्ति मात्र नभएर सन्तानको नासो पनि भएको मन्त्री चौधरीले बताइन् ।
कार्यक्रममा बोल्ने अधिकांशले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गरी मानव वन्यजन्तु सहअस्तित्व कायम गर्ने गरी योजना अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरेका थिए । कतिपय कानुनी जटिलताका कारण विकास निर्माणको काममा बाधा पुग्ने भएको हुँदा त्यसलाई समाधान गर्न निकुञ्ज ऐन र नियमावली संशोधन आवश्यक रहेको जनाएका थिए ।
बर्दिया राष्ट्रिय निकुञ्ज स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा पारेर निकुञ्जले स्वर्ण महोत्सव मनाएको हो । निकुञ्ज सुरुमा ०३२ सालमा कर्णाली वन्यजन्तु आरक्षको रूपमा स्थापित भएको थियो । पछि वन्यजन्तु आरक्ष हुँदै २०४५ सालमा निकुञ्जको रूपमा घोषणा भएको थियो भने निकुञ्जभित्र पाइने पाटेबाघ, गैँडा, चितुवा, घोडगधा, जरायो, चित्तल, लगुना, बाह्रसिंगे र जंगलीहात्ती वन्यजन्तु संरक्षणमा निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना, मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने व्यक्तिकाे महत्त्वपूर्ण योगदान रहेको छ।