विराटनगरमा पहिलोपटक पाँचतारे होटेल सञ्चालनमा आएको छ। विराटनगरको भृकुटी चोकमा पहिलोपटक अन्तर्राष्ट्रिय सञ्जाल भएको पाँचतारे होटेल ‘लेमन ट्री प्रिमियर’ सञ्चालनमा आएको हो।
विराटनगरमा रहेर विभिन्न उद्यम व्यवसाय गरिरहेका चार युवा उद्यमीहरूले अन्तर्राष्ट्रिय सञ्जाल भएको भारतीय फाइभ स्टार चेनहोटेल ‘लेमेन ट्री प्रिमियर’ बिहीबारदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याएका हुन्।
मनोजविक्रम शाह, विकास चौधरी, कविन श्रेष्ठ र प्रशान्त तातेडले करिब दुई अर्ब लगानीमा ‘लेमन ट्री प्रिमियर’ विराटनगर सुरु गरेका हुन्। सात कट्ठा जमिनमा निर्माण भएको ६ तलाको होटेलमा अन्तर्राष्ट्रिय स्तरका सुविधासम्पन्न ८० वटा कोठासहित दुई हजारजना क्षमताको बक्वेंट हल, विभिन्न रेस्टुरेन्टहरू, स्विमिङ पुल, स्पा, जिमहललगायतका सुविधा छन्।
सञ्चालक सदस्य शाहका अनुसार होटेलमा केही भारतीयबाहेक ८० जना नेपालीले प्रत्यक्ष रोजगारी पाएका छन्। मुख्य व्यवस्थापनकर्ता भारतीय भएको लेमन ट्री हस्पिटालिटीअन्तर्गतका होटेलहरू नेपालमा यसअघि काठमाडौं र चितवनमा सञ्चालनमा आइसकेका छन्। तनहुँको बन्दीपुरमा पनि छिट्टै सञ्चालनमा आउँदै छ।