समाज कल्याण परिषद्का नाममा भृकुटीमण्डप क्षेत्रमा रहेका अधिकांश कार्यालय तथा पसलहरूले भाडा तिरेका छैनन् । यहाँ रहेका कार्यालय तथा व्यावसायिक संरचनाले भाडा नतिरेको भन्दै ३० चैतमा ताला लगाइएको थियो । त्यतिवेला नै भाडा तिर्नुपर्ने सातदिने अल्टिमेटम दिइएको थियो । तर, उक्त म्याद सकिएपछि गत आइतबार फेरि सात दिनको म्याद थप गरिएको छ ।
उनीहरूले वर्षौँदेखि भाडा नतिरेका र तिर्न पनि नमानेपछि ताला लगाइएको थियो । तालाबन्दी गरिए पनि अधिकांशले भाडा तिर्न अझै अटेरी गरिरहेका छन् । सबै गरेर यस क्षेत्रको बक्यौता आठ करोड ११ लाख ५६ हजार रुपैयाँ रहेको छ । परिषद्का सदस्यसचिव सरोजकुमार शर्माले केही संस्थाहरूले भाडा तिरेको र केहीले छुट मागिरहेको बताए ।
हालसम्म रिपोर्टर्स क्लबले २३ लाख भाडा तिरेको छ । जुत्ता पसल चलाइरहेकी मनकला श्रेष्ठले तीन लाख ६३ हजार ६२०, टीकाराम सिटौलाले १७ हजार ५४५, कृष्णप्रसाद लामिछानेले तीन लाख, यशोदाकुमारी सेठीले ४० हजार, नारायणकुमारी निरौलाले दुई लाख ७३ हजार, मञ्जु तिमिल्सिनाले २६ हजार, चित्रबहादुर पण्डितले दुई लाख ५३ हजार ८३३ गरी ३५ लाख ७४ हजार २० रुपैयाँ भाडा उठेको छ ।