जिल्ला प्रशासन कार्यालय धादिङ र जिल्ला हुलाक कार्यालयबिच सेवाग्राहीको घरमै राहदानी (पासपोर्ट) पुर्याउनेसम्बन्धी औपचारिक सम्झौता भएको छ । जिल्लाभरका सबै स्थानमा हुलाकमार्फत सेवाग्राहीको घरमै राहदानी पुर्याउने गरी मंगलबार दुई कार्यालयबिच सम्झौता गरिएको हो । मन्त्रिपरिषद्को गत १३ चैतको बैठकले शासकीय सुधारसम्बन्धी सय कार्यसूची सार्वजनिक गरेको थियो । सोहीअनुसार सरकारी सेवा घरमै उपलब्ध गराउने उद्देश्यले दुई सेवा प्रदायकबिच मंगलबार सम्झौता गरिएको हो ।
७ वैशाखबाट बनाइएका सबै राहदानी सेवाग्राहीको चाहना र आवश्यकताअनुसार घरघरमा पुर्याइने धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले बताए । ‘राहदानी आवेदन दिने क्रममा सेवाग्राहीले राहदानी कहाँ लिने भनेर भरेको आधारमा हुलाक सेवामार्फत घरमै डेलिभरी दिने व्यवस्था मिलाइएको छ । जिल्ला प्रशासन कार्यालय वा घरमै नागरिकता लिन सकिने प्रावधान छ,’ उनले भने ।
जिल्लाका विकट क्षेत्रबाट मोटो रकम खर्चिएर पासपोर्ट लिन सदरमुकामसम्म आउनुपर्ने बाध्यता हट्ने उनले बताए । ‘राहदानी बनाउन बायोमेट्रिकका लागि सेवाग्राही प्रशासन कार्यालय आउनैपर्ने भए पनि राहदानी तयार भइसकेपछि भने घरमै पुर्याउँदा उनीहरूको समय र खर्च बचत हुन्छ । अहिले तत्कालका लागि स्थायी ठेगाना र जिल्ला प्रशासनबाट लिने व्यवस्था छ । अन्तरपालिकामा पनि दिने व्यवस्था आए त्यो पनि गर्न सकिन्छ,’ उनले भने ।
सेवा घरदैलोमै पाएबापत सेवाग्राहीले अतिरिक्त शुल्क तिर्नुनपर्ने भएको छ । ‘नागरिकलाई प्रवाह गर्ने अन्य सेवा पनि घरदैलोसम्म पुर्याउन यो सेवाबाट सिकाइ हुन्छ । नागरिकता, राष्ट्रिय परिचयपत्रलगायत अन्य सेवा पनि घरदैलोमा दिन सक्ने अवस्था रहन सक्छ । अहिलेको मागअनुसार घरदैलोमा सेवा दिन कर्मचारी पर्याप्त छन् । माग बढी भएमा जनशक्ति थप गर्नुपर्ने पनि हुन सक्छ । नागरिकलाई सहज र घरदैलोमै सेवा दिन तत्पर छौँ,’ उनले भने ।
जिल्ला हुलाक कार्यालय धादिङका हुलाक अधिकृत नारायणप्रसाद पोखरेलले जिल्लाको सदरमुकाममा सोही दिन, नीलकण्ठ नगरपालिकामा तीन दिन र अन्य स्थानीय तहमा डाँक ढुवानी तालिकाबमोजिम पालिका हुलाक कार्यालयमा पुर्याई सक्दो चाँडो सेवाग्राहीको हातमा पार्ने बताए । ‘नीलकण्ठ नगरपालिका क्षेत्रभित्र आजैदेखि र जिल्लाका अन्य पालिकामा १ जेठदेखि राहदानी वितरण सुरु गर्छौँ,’ उनले भने ।