विश्वव्यापी रूपमा ख्यातिप्राप्त अमेरिकी नृत्य प्रतियोगिता फ्रेन्चाइज ‘वर्ल्ड अफ डान्स’ को दोस्रो संस्करण ‘वर्ल्ड अफ डान्स नेपाल २०२६ को औपचारिक घोषणा गरिएको छ। गत आइतबार काठमाडौंमा आयोजित एक विशेष पत्रकार सम्मेलनमार्फत यस प्रतियोगिताको सुरुवात गर्दै जुरी, पुरस्कार राशि र अडिसनका मितिहरू सार्वजनिक गरिएको हो ।
यसपटकको संस्करणमा डिजिटल वालेट सिटी-पेमार्फत सहभागीले आफ्नो सहभागिता कन्फर्म गर्नुपर्नेछ। सिटी पेले यस सोको अन्तर्राष्ट्रिय फर्म्याटसँग मिल्ने गरी डिजिटल व्यवस्थापन र प्रणालीको विकास गरेको छ र सोही प्रणालीको प्रयोग गरी इच्छुक सहभागीले आफ्नो सहभागिता निर्क्योल गर्ने तथा सहभागिता शुल्क भुक्तानी गर्ने प्रणाली विकास गरिसकेको छ।
प्रतियोगितामा सहभागी हुन चाहने डान्सरहरूले सिटी पे एप डाउनलोड गरी केवाइसी भेरिफिकेसन गरेर इभेन्ट सेक्सनमा गई आफ्नो पायक पर्ने स्थानका लागि आवेदन दर्ता गर्न सक्नेछन्। साथै, दर्शकहरूले समेत ग्रान्ड फिनालेको टिकट सिटी पेमार्फत नै बुक गर्न पाउने व्यवस्था मिलाइएको छ। यस सिजनको मुख्य आकर्षणको रूपमा बलिउडका प्रख्यात कोरियोग्राफर टेरेन्स लुइसलाई ‘सेलिब्रेटी ग्रान्ड जज’को रूपमा घोषणा गरिएको छ। ‘डान्स इन्डिया डान्स’ र ‘इन्डियाज बेस्ट डान्स’जस्ता ठुला सोका अनुभवी निर्णायक लुइसको उपस्थिति नेपाली प्रतिभाहरूका लागि विशेष हुने आयोजकको विश्वास छ। उनीसँगै निर्णायक मण्डलमा वाइल्ड रिपर्ज क्रुका किरण थापा र जेडी तमु रहनेछन्।
प्रतियोगितालाई चारवटा डिभिजनमा विभाजन गरिएको छ। जसमा अपर डिभिजन, जुनियर डिभिजन, अपर टिम डिभिजन र जुनियर टिम डिभिजन रहेका छन्।
प्रत्येक डिभिजनका विजेताले १ लाख रुपैयाँ नगद, २४ क्यारेट सुनको जलप लगाइएको ट्रफी र विभिन्न उपहारहरू प्राप्त गर्नेछन्। साथै, विजेताले वर्ल्ड अफ डान्सको दुबई, थाइल्यान्ड तथा अमेरिकामा हुने प्रतिस्पर्धामा पनि सामेल हुने मौका प्राप्त गर्न सक्नेछन्। नेपालभरका प्रतिभाहरूलाई समेट्न विभिन्न पाँच सहरमा अडिसन सञ्चालन हुनेछ। जसअनुसार १९ वैशाखमा नेपालगन्ज, २२ वैशाखमा बुटवल, २६ वैशाखमा पोखरा, ३० वैशाखमा काठमाडौं र २ जेठमा इटहरीमा आयोजना हुनेछ।
अडिसनबाट छानिएका उत्कृष्ट डान्सरहरूको सेमिफाइनल २१ जेठमा र भव्य ग्रान्ड फिनाले २३ जेठमा सम्पन्न हुनेछ। यो सिजनको फाइनल इभेन्ट ‘प्याराडाइम टिभी’मार्फत युट्युबमा समेत प्रसारण गरिनेछ। सन् २००८ मा क्यालिफोर्नियाबाट सुरु भएको ‘वर्ल्ड अफ डान्स’ अहिले ५० भन्दा बढी देशमा फैलिसकेको छ।