भक्तपुरमा आगामी जेठ १३ र १४ गते सौन्दर्य र व्यवसायको प्रदर्शनी हुने भएको छ। ‘ग्रान्ड ब्युटी एन्ड बिजनेस एक्स्पो विथ हाटबजार’ नाम दिइएको प्रदर्शनी गठ्ठाघरस्थित जर्मन होम्स हस्पिटालिटीमा हुने आयोजक युथ इको नेपालले पत्रकार सम्मेलनमार्फत जनाएको छ।
सौन्दर्य तथा साजसज्जा व्यवसायलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले आयोजित एक्स्पो र हाटबजार अन्तर्राष्ट्रिय स्तरको रहने आयोजक संस्थाका अध्यक्ष आकाश गजुरेलले बताए। एक्स्पोको प्रमुख आकर्षणका रूपमा भारतका चर्चित हेयर आर्टिस्ट जावेद हबिबको विशेष उपस्थिति र प्रशिक्षण रहने अध्यक्ष गजुरेलले जानकारी दिए। त्यस्तै, म्याक अब्राहम, रोहित तिवारी तथा नेपालका लोकप्रिय कलाकार चिरागको समेत सहभागिता रहनेछ।
सो अवसरमा सयवटा स्टलहरूमार्फत हाटबजारको स्वरूप दिइने र व्यवसाय प्रवर्द्धन गरिने जर्मन होम्स हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत राजन कार्कीले बताएका छन्। सौन्दर्य कला, साजसज्जा तथा भक्तपुरको मौलिक पहिचानको प्रवर्द्धन गर्ने वस्तु तथा सेवा हाटबजारमा राखिने उनले बताए।
संस्थाका संरक्षक नरेश रञ्जितले अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सौन्दर्यकर्मीहरूको प्रशिक्षण र प्रयोगात्मक कक्षाले सहभागीहरूमा ज्ञान र सिपको अभिवृद्धि हुने तथा आत्मविश्वास बढ्ने विश्वास व्यक्त गरे।
नेपालको सौन्दर्य तथा साजसज्जा क्षेत्रमा कार्यरत पेसाकर्मी, व्यवसायी, कलाकार र यसप्रति रुचि राख्नेहरूलाई लक्षित गरी एक्स्पो आयोजना गरिएको र यसमा दुई हजारजनाले प्रत्यक्ष रूपले दुईदिने कार्यशालामा सहभागिता जनाउने आयोजकको भनाइ छ। प्रदर्शनी करिब १० हजार मानिसले अवलोकन गर्ने आयोजकको अपेक्षा छ।