राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी सम्पन्न भएर राजधानीवासीले सफा पानी पिउन पाएका छन् । यो हाम्रा लागि खुसीको कुरा हो । तर, यही आयोजनाको चरम लापरबाहीले प्रभावित क्षेत्रका पाँच स्थानीय घरबारविहीन बनेको सुन्दा खल्लो लाग्दोरहेछ । हो, मेलम्ची नगरपालिका बाहुनेपाटीनिवासी एउटै टोलका पाँच परिवार खानेपानी आयोजनाको लापरबाहीले घरबारविहीन भएर इन्द्रावती नदीको किनारमा टहरो बनाएर बसेका छन् ।
खानेपानी आयोजनाको काम गर्न सन् २०१३ मा नेपाल आएको इटालियन ठेकेदार कम्पनी सिएमसी डे रेभेनाले आफ्नो सामग्री राख्न बाहुनेपाटीस्थित हिरालाल श्रेष्ठ, रामचन्द्र श्रेष्ठ, वीणा श्रेष्ठ, गणेशदास श्रेष्ठ र नानीमाया श्रेष्ठको १२ रोपनी पाँच आना एक पैसा दुई दाम जमिन भाडामा लिने सम्झौता गर्याे ।
जमिनमा उनीहरूको घर पनि थियो । इटालियन कम्पनीले १२ रोपनी जमिनलाई कंक्रिट बनाएर विभिन्न संरचना बनायो । तीन वर्ष तीन महिनासम्म बसेको सो कम्पनीले घर र जमिनको भाडा समयमै दियो । ०७५ पुसमा कम्पनी नेपाल छोडेर भाग्यो । त्यसवेलासम्म जमिनको भाडा चुक्ता गरेको थियो ।
इटालियन कम्पनी भागेपछि उसले छोडेर गएको अर्बौँको सामान सुरक्षाका लागि मेलम्ची खानेपानी आयोजनाले सुरक्षागार्ड राखेर घर र जमिन कब्जा गर्याे । सन् २०१८ डिसेम्बरबाट आयोजनाले सो स्थानमा ताला लगायो । समय बित्दै गएपछि श्रेष्ठ परिवारले सन् २०१९ फेब्रुअरी २० मा मेलम्ची खानेपानी विकास समितिलाई भाडा तिरेर घरजमिन छाडिदिन अनुरोध गर्दै निवेदन लेख्यो ।
०७८ मा मेलम्ची खोलामा आएको बाढीले नदीकिनारमा रहेका उनीहरूको बाँकी खेत पनि बगायो । त्यसपछि हिरालाल श्रेष्ठ सुकुमवासीजस्तै भए । नदीकिनारमा रहेको साँघुरो जमिनमा जस्तापाताको टहरोमा उनको दिनचर्या बित्दै आएको छ । नदीकिनारमा जस्ताको टहराभित्र बस्दा ७१ वर्षीय वृद्ध गर्मीले गलेका छन् । अरू चार परिवारको अवस्था पनि उस्तै छ ।
आयोजनाले ताला लगाएर राखेको जमिन जंगल र घर भूतबंगालामा परिणत भएको छ । एकजना सुरक्षागार्ड गेटमा बसिरहेका हुन्छन् । ‘मेरो धानखेत जंगलमा परिणत भएको छ,’ दुःख र आक्रोश मिश्रित भावमा हिरालालले भने, ‘मेलम्ची खानेपानीले गर्दा ७१ वर्षे वृद्धावस्थामा टहरोको वास भयो ।’ भाडा दिन्छु भनेर धेरैपटक झुक्याएर राज्यले अन्याय गरेको उनले सुनाए । भाडा नदिने भए घरजमिन फिर्ता गर्न गरेको अनुनयविनय मेलम्ची खानेपानी विकास समितिले नसुनेको उनले बताए ।
बाहुनेपाटीको व्यस्त बजारमा रहेको उर्वर खेत र घर बेवारिसेजस्तै बनेको हेर्न नसकेर हिरालालका छोरा राजनलाल सिंहदरबारको गेट कुरेको अहिले सात वर्ष सात महिना बितिसकेको छ । फाइल बोकेर खानेपानी मन्त्रालय, आयोजना, विकास समितिको कार्यालय र विभिन्न व्यक्ति भेट्न बाहुनेपाटी र काठमाडौं ओहोरदोहोर गरेको धेरै भयो । तर, राजनले कहिल्यै न्याय पाएनन् ।
०८१ असोज २१ गते खानेपानीमन्त्री प्रदीप यादवको रोहवरमा मुहान क्षेत्रमा सरोकारवालाबिच भएको छलफलमा पीडितलाई भाडा उपलब्ध गराउने सहमति भएको थियो । त्यसपछि ०८१ र ८२ दुवै आर्थिक वर्षमा घर र जमिन भाडा दिनका लागि भनेर १४ करोड बजेटसमेत निकासा भएको थियो । यद्यपि, त्यो रकम अन्तै प्रयोग गरेर पीडितलाई अन्यायमा पारियो । भाडा दिन र जमिन फिर्ता गर्न पीडित परिवारले महिनैपिच्छे ताकेता गरेका छन् ।
०८२ कात्तिक २५ मा भौतिक पूर्वाधार तथा खानेपानीमन्त्री कुलमान घिसिङको रोहवरमा सरोकारवालापक्ष बसेर काठमाडौंमा पछिल्लोपटक सहमति भएको थियो । १५ दिनभित्र घरजमिनको भाडा तिर्ने सहमति भएको थियो । खानेपानी मन्त्रालयमा मन्त्री र सचिव, खानेपानी आयोजनामा धेरैजना कार्यकारी निर्देशक फेरबदल भए । परन्तु, पीडितलाई न्याय दिने सवालमा सबै चुकेका छन् । राज्यले व्यक्तिको जमिन कब्जा गरेर नागरिकलाई सुकुमवासी बनाउन पाइन्छ ? भन्ने नयाँ पत्रिकाको प्रश्नमा हालसालै नियुक्त भएका मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक बालमुकुन्द श्रेष्ठ भन्छन्, ‘सिएमसीले छोडेपछि घरजमिनवाला र हामीबिच नयाँ सम्झौता हुन सकेन । त्यो आयोजनाकै कमजोरी हो ।’ सात वर्षदेखि भाडा नदिएको उनले स्विकार गरे । तर, घर र जमिनको भाडा भनेर रकम निकासा नभएको उनले दाबी गरे ।
यद्यपि, सन् २०१९ डिसेम्बर २० मा मेलम्ची खानेपानी आयोजना र स्थानीय सरकारको रोहवरमा पीडित पक्षलाई आठ लाख ४७ हजार आठ सय ७५ रुपैयाँ भाडा उपलब्ध गराइएको थियो । २०८० मा एक करोड ७६ लाख १७ हजार ९८९ रुपैयाँ भाडा छिटोभन्दा छिटो दिने भनेर विकास समितिले जग्गावालासँग सहमति गरेको थियो । सहमतिअनुसार आयोजनाले वार्षिक ३५ लाख ७० हजार भाडा तिर्नुपर्छ ।
बिचैमा काम छोडेर भागेको सिएमसीको धरौटी नेपाल सरकारले आफ्नो स्वामित्वमा लिइसकेको छ । उता बाहुनेपाटी भण्डारमा आफ्नो अर्बौँ मूल्यको सामान रहेको सिएमसीले दाबी गरिरहेको छ । भण्डारणमा रहेको करोडौँ मूल्यको सामग्री जेनेरेटर, क्रेन, टिपर, फोर फेज तामाको तार एक गाडी, रक बोल्ट र अन्य धेरै उपकरण चिनियाँ कम्पनी सिनो हाइड्रोलाई दिएको स्थानीयले बताएका छन् । त्यहाँ रहेका महँगो उपकरण बेचेर भ्रष्टाचार गरिएको सरोकारवालाहरूले आरोप लगाएका छन् । गाडी, मोटा तार र थुप्रै उपकरण खिया लागेर बिग्रिसकेका छन् । यस्तो बिजोग हुँदा पनि आयोजनाले न त जग्गावालाको भाडा तिर्छ न त गेटमा लगाएको ताला खोलेर घरजग्गा नै फिर्ता गर्छ ।