नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष प्रदान गर्दै आएको ‘अग्रज खेल पत्रकारिता सम्मान, २०८३’ बाट वरिष्ठ खेलकुद पत्रकार रोशनसिंह राउत तथा ‘सुमन भोम्जन स्मृति युवा पत्रकारिता पुरस्कार, २०८३’ बाट नायक पौडेल पुरस्कृत भएका छन् । मञ्चको २१औँ वार्षिक साधारणसभाका अवसरमा आइतबार राष्ट्रिय खेलकुद
परिषद्का सदस्यसचिव रामचरित्र मेहताले दुवै पत्रकारलाई सम्मानित गरेका हुन् ।
राउतले सम्मानपत्रसहित नगद ३५ हजार तथा अनुज पत्रकार नायकलाई ल्यापटप पुरस्कार प्रदान गरिएको मञ्चका महासचिव अञ्जन खड्काले बताए । लोकान्तर अनलाइनमा कार्यरत खेल पत्रकार रोशनसिंह राउतले झन्डै तीन दशक खेलकुद पत्रकारितामा बिताएका छन् । राउतले दक्षिण एसियाली खेलकुद, एसियाली, फिफा विश्वकप छनोटदेखि एसिसी ट्रफीसम्मको फिल्ड रिपोर्टिङ गरेका छन् ।
‘विभिन्न ठाउँबाट सम्मान पाएको छु, तर यो सम्मान मेरा लागि अति विशेष छ,’ उनले भने, ‘आज मैले आफ्नै परिवारबाट सम्मान पाएको हुँ ।’ यसैगरी सुमन भोम्जन युवा पत्रकारिता पुरस्कारबाट पुरस्कृत युवा पत्रकार नायकले द राइजिङ नेपाल हुँदै द काठमान्डु पोस्ट अंग्रेजी दैनिकमा काम गरेका छन् । उनले गत वर्ष एएफसी महिला एसियन कप छनोट कप र टी–२० क्रिकेट विश्वकपमा उत्कृष्ट समाचार सम्प्रेषण गरेका थिए ।
‘अग्रज पत्रकारहरूको प्रेरणाले गर्दा यो पुरस्कारको हकदार हुन सकेँ । यस्तो प्रेरणा भविष्यमा पनि पाइरहने विश्वास छ,’ उनले भने । परिषद्का सदस्यसचिव रामचरित्र मेहताले पुरस्कृत पत्रकारलाई बधाई दिँदै मञ्चको साधारणसभाको सफलताको कामना गरेका थिए ।