नेपाललाई विश्व वन्यजन्तु पर्यटन बजारमा प्रिमियम गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यका साथ ‘ग्रेटर चितवन’ अवधारणा अघि सारिएको छ । मेघौलीमा आइतबार सम्पन्न ‘वाइल्ड नेपाल सफारी मार्ट २०२६’ मा नेपाल पर्यटन बोर्डले ‘ग्रेटर चितवन’ र एकीकृत सफारी सर्किट अवधारणा अघि सारेको हो ।
बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले ‘ग्रेटर चितवन’को रणनीतिक अवधारणा प्रस्तुत गर्दै चितवनलाई केन्द्र मानेर आसपासका पर्यटकीय क्षेत्रलाई एकीकृत गरी सशक्त सर्किट निर्माण गरिने बताए । नेपालका कम्तीमा ६ वटा राष्ट्रिय निकुञ्जलाई जोडेर ‘एकीकृत सफारी अनुभव’ प्रदान गरिने उनको भनाइ छ । यसका लागि भारतसँगको खुला सिमानाको लाभ उठाउँदै सीमापार पर्यटनलाई प्राथमिकता दिइनेछ ।
मार्टमा विभिन्न निकुञ्ज तथा आरक्षका वार्डेनहरूले आ–आफ्नो क्षेत्रको सम्भावना प्रस्तुत गरेका थिए । कोशी टप्पुमा ५३५ भन्दा बढी प्रजातिका चरा पाइने भएकाले यसलाई एसियाकै प्रमुख ‘बर्डिङ हब’ बनाउन सकिने वार्डेन भूपेन्द्र यादवले बताए । शुक्लाफाँटाका वार्डेन चन्द्रशेखर चौधरीले विशाल घाँसेमैदानलाई पर्यटनको मुख्य आधार माने । पर्साका वार्डेन रामचन्द्र खतिवडाले चितवन र पर्साबिच समन्वय गरी संयुक्त प्याकेज ल्याउनुपर्नेमा जोड दिए ।
विश्व पर्यटन मञ्चका अध्यक्ष बुलुट बाग्चीले पर्यटनलाई देशको ‘ग्रिन इनर्जीको संज्ञा दिए । उनले नेपालको भौगोलिक विविधता र छोटो दूरीमै तराईदेखि हिमालसम्मको अनुभव लिन सकिने विशेषता अद्वितीय रहेको बताए । ‘चितवन प्रकृति, संस्कृति र जैविक विविधताको अनुपम संगम हो, यसले प्रत्यक्ष वैदेशिक लगानी भिœयाउन ठुलो मद्दत गर्नेछ,’ बाग्चीले भने ।
नेपाल पर्यटन बोर्डका सिइओ दीपकराज जोशीले अबको पर्यटन केवल गन्तव्य प्रवद्र्धनमा मात्र सीमित नहुने बताए । ‘हामी संरक्षण र पर्यटनलाई सँगसँगै लैजाने उत्तरदायी पर्यटनको मोडेल स्थापित गर्दैछौँ । यसले समुदायको सशक्तीकरण र पर्यावरणको दिगोपन सुनिश्चित गर्नेछ,’ उनले भने । कार्यक्रम नेपाल पर्यटन बोर्डको आयोजना, भरतपुर महानगरपालिका र रेजनल होटेल एसोसिएसन नेपाल (आरहान) चितवनको सहकार्यमा भएको थियो ।