पेट्रोलियम पदार्थको मूल्यवृद्धिअघि ठुलो परिमाणमा पेट्रोल–डिजेल बेचेर आयल निगमलाई संस्थागत नोक्सानी पुर्याएको बदमासीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ । निगमका कर्मचारीले मूल्यवृद्धिअघि तेल बेचेर लाभ लिने गरेको उजुरी परेपछि अख्तियारको ९ नम्बर महाशाखाले गत माघ महिनादेखिको बिक्रीमाथि अनुसन्धान थालेको हो ।
दैनिक रूपमा निगमले बिक्री गर्ने पेट्रोल र डिजेलको विवरण उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत मागेको अख्तियार स्रोतले बतायो । मन्त्रालयले पेट्रोलियम पदार्थको दैनिक विवरण माग गरेर पत्राचार गरेको निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले पनि स्विकारे । ‘उद्योग मन्त्रालयले पेट्रोलियम पदार्थको दैनिक कारोबारको तथ्यांक मागेको छ, हामी उपलब्ध गराउने क्रममा छौँ,’ भट्टले भने । मूल्यवृद्धि हुनु एक–दुई दिनअघिबाट ठुलो परिमाणमा इन्धन बेचेर कर्मचारी र व्यवसायीले लाभ लिने गरेको उजुरी प्राप्त भएपछि अनुसन्धान थालिएको अख्तियार स्रोतले बतायो । दैनिक बिक्री परिमाण प्राप्त भएपछि मूल्यवृद्धि भएको दिन वा सोभन्दा अघिको बिक्री परिमाण हेरेर अनुसन्धानलाई तीव्रता दिने अख्तियारको तयारी छ ।
मूल्यवृद्धिअघि ठुलो परिमाणमा इन्धन बेचेको घटनामा अनुसन्धानमा तानिने भएपछि कागजात उपलब्ध गराउन ढिलाइ गर्न थालिएको निगम स्रोत बताउँछ । निगमले विभिन्न डिपोमा पत्राचार गर्दै दैनिक रूपमा भएको पेट्रोल–डिजेलको बिक्री परिमाण माग गरे पनि बुझाउन ढिलासुस्ती भएको छ । जबकि, दैनिक रूपमा बिक्री भएको परिमाण निगमको ‘इआरपी’ सफ्टवेयरबाट एक ‘क्लिक’मा तुरुन्तै निकाल्न सकिन्छ ।
निगमका कार्यकारी निर्देशक भट्टसहितका उच्च व्यवस्थापनले पनि दैनिक रूपमा बिक्री हुने इन्धनको परिमाण प्रत्येक दिन बिहान ११ बजे नै इआरपी सफ्टवेयरमार्फत हेर्ने गरेका छन् । यसरी सजिलै प्राप्त हुने तथ्यांक दिनसमेत ढिलाइ गर्नुले आशंका झन् बढेको निगमका एक कर्मचारीले बताए ।
तर, कार्यकारी निर्देशक भट्टले मूल्यवृद्धिअघि मागभन्दा बढी इन्धन बेच्ने गरेको विषयमा सत्यता नभएको जिकिर गरे । ‘मूल्य बढ्नुअघि ठुलो परिमाणमा इन्धन बेच्ने कुरा सही होइन । बजार माग र आवश्यकताअनुसार तेल बेचिरहेका छौँ,’ उनले भने, ‘बरु, हामीले बिक्रीमा कडाइ गरेका छौँ ।’
आयल निगमले १ चैतको मूल्यवृद्धिअघि औसत खपतभन्दा ८८ लाख लिटर बढी इन्धन बेचेर संस्थालाई १० करोड रुपैयाँभन्दा बढी नोक्सानीमा धकेलेको विषय सार्वजनिक भइसकेको छ । त्यस्तै, १७ चैत र २ वैशाखको मूल्यवृद्धिअघि पनि ठुलो परिमाणमा इन्धन बेचेको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धिको दबाब देखाउँदै सरकारले आयल निगमको घाटा कम गर्न कर छुट, सातामा दुई दिन सार्वजनिक बिदा, विद्यालयको नयाँ शैक्षिक सत्र ढिलाइ र पेट्रोलियम पदार्थमा उल्लेख्य मूल्यवृद्धिसमेत गरेको छ । तर, निगमले मूल्य बढ्नुअघि ठुलो परिमाणमा इन्धन बिक्री गरेर संस्थालाई थप आर्थिक नोक्सानीमा धकेलेको तथ्यबारे यसअघि नयाँ पत्रिकाले समाचार प्रकाशित गरिसकेको छ ।