बागमती नदीकिनारको जग्गा अतिक्रमण गरेर बसेको बस्ती सरकारले शान्तिपूर्वक खाली गरेको छ । बस्ती खाली गरेर वास्तविक सुकुमवासी पहिचान गर्न ‘स्क्रिनिङ’ (विवरण संकलन) प्रक्रिया पनि साथसाथै सुरु गरेको छ । अब सरकारको प्रमुख जिम्मेवारी ‘वास्तविक सुकुमवासी’ पहिचान गरी उनीहरूको स्थायी व्यवस्थापन गर्नु हो ।
सरकारले अवैध संरचना हटाउने उर्दी गरेपछि सुकुमवासी बस्तीका कतिपय परिवारले बिहीबार र शुक्रबार नै बस्ती छाडिसकेका थिए। कतिपय गाउँ र कतिपय डेरा खोजेर व्यवस्थापनमा लागिसकेका थिए।
कतिपयले भने शनिबार दिउँसोसम्म पनि टहरा खाली गर्न सकेका थिएनन् । अन्यत्र जाने ठाउँ तथा विकल्प नभएकाले अन्तिम समयसम्म सामान हटाउन सकेका थिएनन्।
उनीहरूका टहरामा भएका सरसामान हटाउन नेपाल प्रहरी र नगर प्रहरीले सहयोग गरेको थियो। टहराबाट उनीहरूका सामान सुरक्षित ठाउँमा सार्न निःशुल्क ढुवानी सेवासमेत दिइएको थियो।