गोकर्ण गल्फ क्लबमा शनिबार सम्पन्न कार्ल्सबर्ग क्लासिक २०२६ (गोकर्ण संस्करण)मा तेन्जिङ छिरिङ विजयी भएका छन्। शून्य ह्यान्डिक्यापमा खेलेका तेन्जिङले ३९ स्टेबलफोर्ड अंक जोड्दै उपाधि जितेका हुन्।
तेन्जिङले बोगीरहित खेल प्रदर्शन गर्दै ८, ११ र १३औँ होलमा बर्डी बनाए। विजेताका रूपमा उनले मलेसियामा गल्फ यात्रा, गल्फ ब्याग तथा गिफ्टह्याम्पर प्राप्त गरेका छन्।
संयाेग शाही ३७ अंकसहित काउन्टब्याकका आधारमा उपविजेता बने। सात ह्यान्डिक्यापमा खेलेका उनले अगाडिको नौ होलमा १६ र पछाडिको नौ होलमा २१ अंक जोडे। ताशी छिरिङले बेस्ट ग्रस र मोस्ट बर्डिज दुवै उपाधि जिते। उनले ३९ ग्रस अंक बनाउँदै पाँच बर्डी प्रहार गरेका थिए।
महिलातर्फ सुष्मा सिंह ३८ अंकसहित विजेता बनिन् भने तारा कार्की चित्रकार ३३ अंकसहित उपविजेता रहिन्। दुवै विजेताले मलेसिया गल्फ यात्रासहितका पुरस्कार प्राप्त गरेका छन्।
६० वर्ष वा सोभन्दा माथिका सिनियरतर्फ बाबु शेर्पा ३६ अंकसहित विजेता बने। उनले अगाडिको नौ होलमा १५ र पछाडिको नौ होलमा २१ अंक जोडे। शंकरमान रोक्काले ‘क्लोजेस्ट टु द पिन’ तथा डार्टानिएन गियरकेले ‘लंगेस्ट ड्राइभ’ उपाधि जिते।
गोर्खा ब्रुअरी प्रालिको प्रायोजनमा आयोजित प्रतियोगितामा १११ खेलाडी सहभागी थिए। प्रतियोगिता थ्री क्वार्टर ह्यान्डिक्यापसहित स्टेबलफोर्ड ढाँचामा खेलाइएको थियो। विजेताहरूलाई गोर्खा ब्रुअरी प्रालि तथा गोकर्ण गल्फ क्लबका प्रतिनिधिहरूद्वारा पुरस्कार हस्तान्तरण गरिएको थियो।