- रारा, छायानाथ धामसहित मुगुका पर्यटकीय क्षेत्रको विकास, पूर्वाधार विस्तार तथा स्थानीय समुदायको आर्थिक सशक्तीकरणमा टेवा पुग्ने विश्वास
मुगुको मुगुम कार्मारोङ गाउँपालिकाको छायानाथमा ३ जेठमा छायानाथ ट्रेल अल्ट्रा रेस २०२६ हुने भएको छ । एड्भेन्चर स्पोर्टस्मार्फत मुगुको पर्यटकीय सम्भावनालाई उजागर गर्न अल्ट्रा रेस आयोजना गर्न लागिएको हो । नेपाल पर्यटन बोर्डमा बिहीबार पत्रकार सम्मलेन गर्दै यसबारे जानकारी गराइएको हो । यसको आयोजक मुगुम कार्मारोङ गाउँपालिका रहनेछ ।
गाउँपालिकाले रारा, छायानाथ धामसहित मुगुका पर्यटकीय क्षेत्रको समग्र पर्यटन विकास, पूर्वाधार विस्तार र स्थानीय समुदायको आर्थिक सशक्तीकरणमा टेवा पुर्याउने उद्देश्यले अल्ट्रा रेस आयोजना गरिएको जानकारी गराएको छ । कार्यक्रममा गाउँपालिकाका प्रतिनिधिले रारा र छायानाथ धामआसपासका क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित रणनीतिक कार्यक्रम ल्याइएको बताए ।
गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्रे लामाले पर्यटनलाई स्थानीय आर्थिक विकासको मुख्य आधारका रूपमा अघि बढाइने स्पष्ट पारे । उनले भने, ‘मुगु केवल प्राकृतिक सौन्दर्यको केन्द्र मात्र होइन, यो नेपालको पर्यटन सम्भावनाको प्रतीक पनि हो । यसलाई दिगो र व्यवस्थित रूपमा विकास गर्न हामी प्रतिबद्ध छौँ ।’ प्रतियोगिताका विजेतालाई नगद पुरस्कार, मेडल र प्रमाणपत्रद्वारा सम्मान गरिनेछ ।
महिला तथा पुरुषतर्फ प्रथम हुनेलाई दुई लाख, दोस्रोलाई डेढ लाख, तेस्रोलाई एक लाख, चौथोलाई ७५ हजार र पाँचौँलाई ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । त्यसैगरी, स्थानीयतर्फ प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कारको व्यवस्था गरिएको बताइएको छ । पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्डका निर्देशक लक्ष्मण गौतमले मुगुम कार्मारोङलाई साहसिक खेल पर्यटनको उत्कृष्ट गन्तव्य बनाउने यस अभियानले पर्यटन प्रवर्द्धनका साथै स्थानीय अर्थतन्त्रमा पनि योगदान पुग्ने बताएका छन् ।