सार्वजनिक जग्गा खाली गर्न पोखरा महानगरको ३५ दिने सूचना

आइतबार, १३ बैशाख, २०८३
डिजिटल संस्करण

पोखरा महानगरपालिकाले नगर क्षेत्रभित्रका सार्वजनिक/ऐलानी/पर्ती जग्गा खाली गराउन ३५ दिन सूचना जारी गरेको छ । सूचनामा सार्वजनिक/ऐलानी/पर्ती जग्गा मिचेर सँगै अनधिकृत रूपमा निर्माण गरिएका संरचना ३५ दिनभित्र हटाउन भनिएको छ ।

महानगर क्षेत्रभित्र विभिन्न स्थानमा सार्वजनिक/ऐलानी/पर्ती जग्गा विनाअनुमति अतिक्रमण गरी पहुँचका आधारमा लामो समयदेखि विभिन्न व्यक्तिहरू/संस्थाहरूबाट संरचना निर्माण गरी कार्यालय सञ्चालन गर्ने, भाडामा लगाउने गरेको, पर्खाल लगाई जग्गा भित्र्याउनेजस्ता कार्य भएको पाइएकाले सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आफैँ खाली गर्न, गराउन भनिएको छ ।

महानगरपालिकाका प्रमुख धनराज आचार्यले यसअघि पहुँचका आधारमा हुँदै आएको सार्वजनिक सम्पत्तिको दोहन गर्ने प्रवृत्तिको अन्त्य गर्दै नगर क्षेत्रभित्र रहेका सार्वजनिक/ऐलानी/पर्ती जग्गाा संरक्षणका लागि सूचना जारी गरिएको जानकारी दिए । सार्वजनिक जग्गामा भएका अतिक्रमण र अनधिकृत प्रयोगलाई रोक्न महानगर अघि बढेको र त्यसैका लागि सूचना जारी गरिएको उनले बताए ।

सुझावित समाचार