उद्योगबाट निस्किने कालो धुवाँ नियन्त्रण गर्न नयाँ मापदण्ड

आइतबार, १३ बैशाख, २०८३
डिजिटल संस्करण
  • इन्धन बाल्दा निस्किने हानिकारक ग्यास सल्फर डाइअक्साइडको उत्सर्जन चार सय मिलिग्राम प्रति नर्मल घनमिटरभित्रै राख्नुपर्ने
  • चिम्नीको उचाइ ११ मिटरभन्दा कम हुन नहुने, यसले धुवाँलाई माथि फैलाएर जमिननजिकको प्रदूषण कम गर्न सहयोग पुग्ने अपेक्षा

उद्योगबाट निस्किने धुवाँका कारण बढ्दै गएको वायु प्रदूषण नियन्त्रण गर्न सरकारले नयाँ मापदण्ड लागू गरेको छ । वन तथा वातावरण मन्त्रालयले औद्योगिक ब्वाइलरबाट निस्किने धुवाँ र चिम्नीको उचाइका लागि ‘उद्योग प्रतिष्ठानहरूमा जडान भएका ब्वाइलरको सञ्चालनबाट निष्कासन हुने धुवाँ तथा चिम्नीको उचाइसम्बन्धी मापदण्ड, २०८२’ जारी गरेको हो । यो मापदण्ड वातावरण संरक्षण ऐन, २०७६ अनुसार मन्त्रीस्तरीय निर्णयबाट जारी भएको मन्त्रालयले जनाएको छ ।

उद्योग विस्तारसँगै वायु प्रदूषणको बढ्दो चिन्तालाई सम्बोधन गर्न मापदण्ड प्रभावकारी हुने मन्त्रालयको अपेक्षा छ । खासगरी नयाँ मापदण्डले काठमाडौं उपत्यकामा रहेका उद्योगहरूलाई जिम्मेवार बनाउँदै वातावरणीय क्षति घटाउने लक्ष्य राखेको छ । 

उद्योगमा पानी तताएर बाफ वा तातो पानी उत्पादन गर्ने ब्वाइलरका आधारमा हुन सक्ने प्रदूषणलाई आधार बनाएर नयाँ मापदण्ड जारी गरिएको छ । ब्वाइलरबाट निस्कने धुवाँमा साना कण हुन्छन् । जसले वातावरण र मानव स्वास्थ्यमा गम्भीर असर पार्छ । यही जोखिम घटाउन सरकारले नयाँ मापदण्ड ल्याएर कडाइ गर्न खोजेको हो । नयाँ मापदण्डअनुसार उद्योगले प्रयोग गर्ने ब्वाइलरको क्षमता प्रतिघण्टा उत्पादन हुने टन (टिपिएच)अनुसार धुवाँमा हुने कणको मात्रा सीमित गरिएको छ । टिपिएच ब्वाइलरको क्षमता मापन गर्ने विधि हो । यसले एक घण्टामा कति टन बाफ उत्पादन गर्न सक्छ भन्ने जनाउँछ ।

यस्तो छ उद्योगबाट निस्किने धुवाँको कणको मापदण्ड
कम क्षमताका ब्वाइलरलाई कृषि वा जैविक इन्धन प्रयोग गर्दा धुवाँमा हुने कणको सीमा अधिकतम ६ सय मिलिग्राम प्रति नर्मल घनमिटर निर्धारण गरिएको छ । यो प्रदूषण नाप्ने एकाइ हो । अन्य इन्धन प्रयोग गर्दा भने पाँच सय मिलिग्राम प्रति नर्मल घनमिटर तोकिएको छ । दुईदेखि १० टिपिएचसम्मको हकमा जैविक इन्धनमा पाँच सय मिलिग्राम प्रति नर्मल घनमिटर र अन्य इन्धनको हकमा दुई सय ५० मिलिग्राम प्रति नर्मल घनमिटर तोकिएको छ । १० देखि १५ टिपिएचको हकमा जैविक इन्धन चार सय मिलिग्राम प्रति नर्मल घनमिटर र अन्य इन्धनको हकमा दुई सय मिलिग्राम प्रति नर्मल घनमिटर राखिएको छ । १५ टिपिएचभन्दा बढीको हकमा उत्सर्जन झन् कम राख्नुपर्ने उल्लेख छ । 

प्रदूषण नियन्त्रण गर्ने उपकरण राख्नुपर्ने
सरकारले ब्वाइलरसँगै प्रदूषण नियन्त्रण गर्ने उपकरण अनिवार्य गरेको छ । साइक्लोन वा मल्टिसाइक्लोन र ब्याग फिल्टर वा इलेक्ट्रोस्टाटिक प्रिसिपिटेटर राख्नुपर्ने व्यवस्था गरिएको छ । यी उपकरणले धुवाँमा रहेका हानिकारक कणहरू फिल्टर गर्न मद्दत गर्छन् । सल्फर डाइअक्साइडमा पनि सीमा निर्धारण गरिएको छ । यो इन्धन बाल्दा निस्किने हानिकारक ग्यास हो । उद्योगहरूले सल्फर डाइअक्साइडको उत्सर्जन चार सय मिलिग्राम प्रति नर्मल घनमिटर भित्रै राख्नुपर्नेछ । यसका लागि आवश्यक उपकरण जडान गर्नुपर्नेछ ।उद्योगमा धुवाँको मात्रा मात्र होइन, चिम्नीको उचाइ पनि अब वैज्ञानिक आधारमा निर्धारण गर्नुपर्ने भएको छ । कुनै पनि अवस्थामा चिम्नीको उचाइ ११ मिटरभन्दा कम हुन नहुने उल्लेख छ । 

See More On

सुझावित समाचार