सिरहाको लहान नगरपालिकाको आर्थिक सहयोगमा पछिल्लो साढे तीन वर्षको अवधिमा नगर क्षेत्रका करिब १७ हजार जनाको आँखा जाँच र दुई हजार पाँच सय बढीको शल्यक्रिया गरिएको छ ।
लहान नगरपालिकाले लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालको समन्वयमा पछिल्लो साढे तीन वर्षको अवधिमा नगरका २४ वटै वडामा वार्षिक रुपमा कम्तिमा एक/एक पल्ट शिविर संचालन गरी मोतियाविन्दु भेटिएका दुई हजार पाँच सय बढी जनाको निःशुल्क शल्यक्रिया गरिएको नगर प्रमुख महेशप्रसाद चौधरीले जाकारी दिए ।
लहान १७ गोविन्दपुर एकरतियास्थित मा.वि. झिरहरीमा शनिबार आयोजित आँखा शिविरको उद्घाटन गर्दै उनले आर्थिक अभावमा मोतियाविन्दु जस्तो आँखाको सामान्य रोगको उपचार गराउन नसकेर सास्ती झेलिरहेका नगरबासीका लागि नगरको सहयोगमा शिविर संचालनलाई निरन्तरता दिइएको बताए ।
‘घर परिवारको आर्थिक अवस्थाको कारणले अस्पतालसम्म पुगेर आँखा जाँच र शल्यक्रिया गराउन नसकेका ज्येष्ठ नागरिक, असहाय, बिपन्नहरुलाई लक्षित गरी नगरपालिकाको आर्थिक सहयोगमा शिविर चलाइएको हो’ उनले भने ‘मोतियाविन्दु भेटिएका बिरामीहरुलाई अस्पतालसम्म ल्याएर उपचारपछि घर फर्किन नगर बसको समेत सुिवधा उपलब्ध गराएका छौं ।’ आफू निर्वाचित भएपछि आर्थिक वर्ष २०७९/०८० देखि करिब साढे तीन वर्षको अवधिमा नगरको २४ वटै वडामा दुई/ दुई पल्ट शिविर संचालन गरी १७ हजार जनाको आँखा जाँच र दुई हजार पाँच सय बढीको शल्यक्रिया गरिएको उनले बताए । ‘त्यसमा करिब आठ हजार जनालाई निःशुल्क औषधि समेत वितरण गरिएको छ’ उनले भने ।
हरेक वार्ड वार्डमा शिविर
करिब साढे तीन वर्ष पहिले गाउँको शिविरमा आँखा जाँच गराउँदा मोतियाविन्दु भेटिएका स्थानीय ७१ वर्षीय भगनी मोचीले नगरपालिकाकै सहयोगमा शल्यक्रिया गराएको भएपनि आर्थिक अभावमा दायाँ आँखाको जाँच गराउन नसकेको सुनाए । ‘दायाँ आँखाको जाँच गराउन शिविर नै पर्खिनु पर्यो’ उनले भने ‘मजदूरी गरेर हातमुख जोड्ने परिवारका लागि नगरपालिकाको सहयोगले ठूलो राहत भएको छ ।’
आर्थिक अभावले आँखाको उपचार गराउन नपाएर अन्धोपनको समस्यासँग जुधिरहेका नगर क्षेत्रका बिपन्न, असहाय र ज्येष्ठ नागरिकलाई लक्षित गरी लहान नगरपालिकाले वार्षिक नीति तथा कार्यक्रममै राखेर लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालको सहकार्यमा वडा तहमा आँखा शिविर संचालन गर्दै आएको छ । नगरपालिकाले शिविरमा आँखा जाँच गराएकामध्ये मोतियाविन्दु भेटिएका बिरामीको थप जाँच, शल्यक्रियासहित निःशुल्क औषधि, चस्मा वितरण गरिरहेको जनाएको छ ।
पछिल्लो पटक लहान १३ मा संचालित शिविरमा आँखा जाँच गराएका दुई सय २० जनामध्ये मोतियाविन्दु भेटिएका ६१ जनाको वैसाखको पहिलो साता शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । आँखा अस्पतालका शिविर संयोजक राजकुमार यादवका अनुसार गाउँमा संचालित शिविरमा मोतियाविन्दुको पहिचान भएका बिरामीलाई अस्पतालसम्म ल्याउन र उपचारपछि पुनः गाउँमा पुर्याउने सुविधा उपलब्ध गराइएको छ ।
‘मोतियाविन्दुका बिरामीलाई अस्पताल ल्याएर थप उपचारपछि शल्यक्रियासहित निःशुल्क चस्मा र औषधि समेत दिंदै आएको छौं’ उनले भने ‘गरिब, बिपन्न र असहाय बिरामीलाई पाँचदेखि १० हजार रुपैयाँसम्म लाग्ने शल्यक्रिया खर्च नगरपालिकाले व्यवस्थापन गरिरहेकाले अन्धोपन निवारणमा ठूलो यागदान पुर्याएको छ ।’ नगरपालिकाले अस्पतालसँग सम्झौता गरी हरेक वर्ष नगरको २४ वटा वडा क्षेत्रका कम्तिमा एक हजार जनाको आँखा जाँच गर्ने गरी आँखा जाँच शिविर अभियान संचालन गर्दै आएको छ ।