पवित्र धार्मिकस्थल गोसाईँकुण्डका बारेमा धेरै पहिलेदेखि सुन्दै आएको भए पनि प्रत्यक्ष अनुभव गर्ने मौका जुरेको थिएन । संस्कृति, प्रकृति र अध्यात्म एकैसाथ भेट्न सकिने यस दिव्य स्थानमा यो वर्षको अनिवार्य बिदाको समय सदुपयोग गर्ने कार्यक्रम बन्यो । एकातर्फ धार्मिक उद्देश्य अर्कोतर्फ दैनिक कार्यबाट बिल्कुलै अलग र खुला परिवेशमा यी चार दिनमा अलौकिक शान्ति र साहसिक यात्रा अनुभूति गर्न पाइयो ।
प्रसंग गोसाईँकुण्ड यात्राको हो । लाङटाङ हिमालको काखमा लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने पदयात्रासहितको यो एउटा पवित्र तीर्थस्थल हो । समुद्र सतहबाट करिब ४३८० मिटर उचाइमा रहेको यो कुण्ड धार्मिक, सांस्कृतिक र प्राकृतिक सौन्दर्यको एउटा अद्भूत संगम रहेछ । यहाँ एकपटक मात्र स्नान गर्दा पनि जीवनमा जान–अन्जानमा गरेका पापहरू नष्ट हुने र आत्मा शुद्ध हुने जनविश्वास रहेको छ । भगवान शिबजीसँग जोडिएको यो तीर्थस्थल कैलाश–पर्वतपछिको दोस्रो महत्वपूर्ण धार्मिक गन्तव्य मानिन्छ । प्राचीन कथाअनुसार समुद्र मन्थनपछि निस्किएको कालकुट विष पिएर छटपटिएका भगवान् शिवले यसै स्थानमा रहेको हिमालमा त्रिशूल प्रहार गरी पानी निकाल्दा पानीका धाराहरू उत्पत्ति भएको, जसलाई अहिले त्रिशूलधारा भनिन्छ । यही धाराको पानीबाट गोसाईँकुण्डको उत्पत्ति भएको मानिन्छ ।
भर्खरै चिसो सकिन लागेको चैतको दोस्रो हप्ता भ्रमण पदयात्राको समय निस्केको थियो । त्यहाँ जाने रुट, बस्ने स्थान, मौसमलगायतका विषयमा विदुर भाइसँग सल्लाह गरी सोहीबमोजिमका कार्यक्रम बनाएका थियौँ । हिमाली पदयात्रा अल्टिच्युड लाग्न सक्नेतर्फ सचेत रहँदै आवश्यक सबै सामान अघिल्लो दिन व्यवस्थापन गरेका थियौँ ।
पहिलो दिन हामी (¬श्रीमतीजी र म) बिहान ६ बजे नै घर (कीर्तिपुर)बाट निस्कियौँ । बिहान करिब १० बजे त्रिशूलीको ढुंगेमा खाजा खान रोकियौँ । करिब १२ बज्दै थियो खाना खानका लागि फेरि धुन्चे पुगेर गाडी रोकियो । खासमा धुन्चेबाट गोसाईँकुण्ड जाने दुईवटा बाटो रहेछ । पहिलो बाटोबाट धुन्चे, घट्टेखोला, देउराली, चन्दनबारी, सोलाङपाटी हुँदै र दोस्रो बाटो धुन्चे, स्याफ्रुबेँसी, ठुलो स्याफ्रु, मूलखर्क, सोलाङपाटी हुँदैजाने रहेछ । दुवैबाट सोलाङपाटीमा पुगेपछिको बाँकी बाटो भने एउटै रहेछ । हामीले पहिलो रुटबाट जाने र दोस्रो रुटबाट फर्कने विचार गर्यौँ । हामीलाई धुन्चेदेखि स्याफ्रुबेँसीसम्मको बाटोमा विवेक तिवारी भाइले साथ दिएका थिए ।
हामी ५ः३० बजेतिर ठुलो स्याफ्रुमा पुग्यौँ । इभिनिङ वाक् गर्दै ठुलो स्याफ्रु बजार परिक्रमातर्फ लाग्यौँ । साँझको घमाइलोमा छर्लंग देखिएका चाँदीजस्ता हिमालको प्राकृतिक वातावरणमा हामीलाई फोटो खिच्नकै लागि मात्र मौसम खुलेको अभूतपूर्व अनुभुति हामीले गर्यौँ । राति पनि हिउँ परेकोरहेछ । चिसो धेरै बढेकाले हामीलाई अल्टिच्युड लाग्छ कि भन्ने डर लागेको थियो ।
बिहान ५ः३० मा नै उठेर हलुका ब्रेकफास्ट सुक्खारोटी र तरकारी खाएर ६ः०० बजे नै मूलखर्कतिरको उकालो पदयात्रा सुरु भयो । हामी बिस्तारै उकालो बाटो, घाम लागेको घमाइलो मौसम, बाटोभरि हिउँ नै हिउँ पार गर्दै मूलखर्क पुग्यौँ । त्यो ठाउँमा हामीजस्तै झन्डै १२ जनाजति कोरियन नागरिकहरू यात्रारत भेटिए । जति हामी उकालोतर्फ बाटो चढ्दै जान्छौँ, त्यति अर्कोतर्फ नै बाक्लो हिउँले गर्दा यात्रा अझ रोमाञ्चक, नयाँ अनुभूति र थप चिसोले श्वास फेर्दा अलिक अप्ठ्यारोसमेत हुँदै गएको थियो । माथिपट्टि लाङटाङ हिमाली रेन्ज पूरै चाँदीजस्तै चम्किरहेको देख्दा सबैकुरा बिर्सेर यात्रा थप रोमाञ्चक बन्दै गएको थियो । उकालो चढ्दै जाँदा करिब दुई बजेतिर हामी सोलाङपाटी (३६५० मिटरको उचाइमा) पुग्यौँ, जहाँ हामीले बिहानको खाना खाने कार्यक्रम राखेका थियौँ । हामीले यहाँ खाना खायौँ । प्रतिव्यक्ति रु. ५०० मात्रमा दिउँसोको खाना खायौँ । यो पदयात्रा मार्गमा खाना, खाजा, चिया होटेल रेट भनेर गोसाईँकुण्ड पदयात्रा समितिले तोकेको हुनेरहेछ । जति उकालो गयो खाना र होटेलको रेट महँगो हुँदै जाने र रेटचाहिँ समितिले तोकेबमोजिम नै हुने हुँदा ठगिनु नपर्नेरहेछ । खाना खाएर सोलाङपाटीमा एक घण्टा आराम गरेर बसेपछि पानी पर्न पनि कम भयो अनि हामी पनि लौरी विनायकतर्फ ठाडो उकालो लाग्यौँ ।
करिब ६ बजे हामी लौरी विनायक ४००० मिटर उचाइको होटेलमा पुग्दा अलिक हलुका महसुस गर्यौँ । जुत्ताभित्र हिउँ छिरेकाले त्यो पग्लेर मोजाभित्र पानी थियो । होटेलमा पुगी पहिला जुत्तामोजा खोलेर आगोमा खुट्टा ततायौँ । कोरियनहरूले उनीहरूको एकजना साथीलाई लेक लागेको कारण गोसाईँकुण्ड नजाने निर्णय गरे । त्यसपछि हामीलाई जाने कि नजाने भन्ने चुनौती बढ्यो । यता श्रीमतीजीलाई पनि हल्का अल्टिच्युड लक्षणजस्तै देखिएको थियो । अनि हामी पनि भोलि गोसाईँकुण्ड नगई यहीँबाट फर्कने कि भन्ने सल्लाह गर्दागर्दै अत्यधिक थकाइ र चिसोको कारण भुसुक्कै निदाइएछ । राति दुई बजे ब्युँझिँदा त बाहिर अत्यधिक हावाहुरीसहितको चिसोको अनुभव भयो । जेनतेन बिहान उज्यालो भयो, बिहानपख ६ बजेतिर हिमाली रेन्जमा घामको ज्योति पर्दा पूरै हिमाल चाँदीजस्तै टलक्क टल्किएको थियो । होटेलको आँगन र बाटोभरि कम्तीमा एक हातभन्दा बढी बाक्लो हिउँ परेको थियो । बिहानको झुल्को घाममा निस्केर हिमाल र हिउँसँग खेल्दै करिब १५ मिनेटजति फोटो सेसन पनि गर्यौँ । एकाएक जोश आयो अब गोसाईँकुण्ड नै जाऔँ भनी सल्लाह गर्यौँ । होटेलवाला दिदीसँग पनि सल्लाह लियौँ, अनि उहाँले नै हिउँमा जाँदा घाम लागेको समयमा कालो चस्मा अनिवार्य लगाउनुपर्छ भन्दै श्रीमतीजीलाई एउटा कालो चस्मा पनि दिनुभयो ।
बिहान करिब ६ बजेको समय थियो, हामी होटेलमा तातोपानी खाएर बौद्ध स्तुपातर्फको ठाडो उकालो यात्रा सुरु गर्यौँ । हिउँले बाटो प्रस्ट देखिएको थिएन र अत्यन्त चिसो महसुस भइरहेको थियो । झन्डै डेढ घण्टा ठाडो उकालोपछि करिब ४१०० मिटर उचाइमा बौद्ध स्तुपा रहेछ । त्यहाँ पुगेपछि आफूले टेकेर आएको लौरी चढाउनुपर्दछ भन्ने मान्यता रहेछ । सोहीबमोजिम हामीले पनि टेकेको लौरी भगवान्लाई चढायौँ ।
बाक्लो हिउँले बाटो मात्र होइन, डाँडाकाँडासमेत सेताम्य देख्दा हामीलाई ठुलै हिमाल आरोहण गरेका छौँ कि जस्तो अनुभूति भइरहेको थियो । बिहान लगातार चार घण्टाको (करिब पाँच किमि)को हिँडाइपछि हामीले पार्वतीकुण्ड र भैरवकुण्ड हुँदै अन्ततः ४३८६ मिटर उचाइमा रहेको गोसाईँकुण्डको दर्शन गर्यौँ । मनमा अलौकिक आनन्द र आध्यात्मिक ऊर्जा प्राप्त भएको अनुभूति भयो । कुण्ड स्नान गरी मन्दिरको पूजा सकेर होटेलमा आराम गर्दै बिहानको खाना खायौँ ।
११ः३० बजेतिर पुनः लौरी विनायकतर्फ प्रस्थान गर्यौँ । चिप्लो हिउँ र ओरालो बाटो पार गर्दै हामी करिब २ः ३० तिर पुनः लौरी विनायक आइपुग्यौँ । अब ३ः०० बजेतिर उच्च जोशजाँगर लिएर धुन्चे नै पुग्ने लक्ष्यका साथ ओरालो झर्न सुरु गर्यौँ ।
एक घण्टामा सोलाङपारि पुग्दा अचानक ठुलो पानी र हिउँ पर्यो । होटेलनजिक भएकाले हिजो खाना खाएकै होटेलमा पसेर चिया पियौँ । करिब ४.०० बजे पानी पर्न बन्द भयो अनि हामी हिजो आएको बाटो छोडेर चन्दनबारीतर्फको बाटोमा फर्किन अगाडि बढ्यौँ । अब हिउँको प्रभाव कम हुँदै गएको थियो । पानीले बाटो चिप्लो भए पनि यात्रा केही सहज हुँदै गएको थियो । चारैतिर हरियाली, चिसो हावा र हिमाली दृश्यले मन प्रफुल्लित हुँदै त्रमशः ओरालो बाटो लट्ठीको सहयोगले झर्दै गर्यौँ । करिब एक घण्टा हिँडेपछि चन्दनबारी भन्ने ठाउँमा पुग्यौँ । ओरालो झर्दै पुनः घुम्सा पुग्यौँ ।
अब अँध्यारो सुरु भयो, झन्डै ६ः३० बजिसकेको थियो, देउराली त पुगियो तर हामी अरू दुई घण्टा हिँडेर धुन्चे नै जाने अठोटका साथ त्यहाँबाट लगातार ओरालो बाटो मोबाइल बालेर हिडिरह्यौँ । अब करिब एक घण्टामा घट्टेखोला पुगिन्छ कि भन्ने आशा थियो । हामी निकै थाकिसकेका थियौँ । घट्टेखोला तरेपछि पनि धुन्चे पुग्न अझै एक घण्टा हिँड्नु पर्ने हुँदा विदुरजीलाई घट्टेखोलाबाट गाडीको व्यवस्था गर्न लगायौँ । गाडी घट्टेखोलामा आउने भन्ने पक्का भएपछि हाम्रो हिँडाइको गति भने अलि बढेजस्तो भयो । घट्टेखोलाको आगमनको प्रतीक्षामा झन्डै नौ बजिसकेको थियो । तर, खोला भने आइपुगेन । यस्तैमा श्रीमतीजीले ‘खोइ खोला कता हरायो ?’ भन्न लागिन् । उनको मार्मिक वाक्यले म भावुक भएँ । राति नौ बजेको अन्धकार, खोलाको गडगडाहटले बगेको आवाज आउँछ, तर जति हिँडे पनि हामी खोलानजिक पुग्न सकिरहेका थिएनौँ । तर, झन्डै ९ः३० बजे बल्ल हराएको घट्टेखोला भेट्टाइयो । हामी पुल तरेर पारि पुग्दा गाडी स्ट्यान्डबाई थियो । गाडी चढेर करिब १० बजे धुन्चे पुग्यौँ । तातो सुप र खाना खाई एकछिन आराम गरेपछि निदाएको पत्तो नै पाइएन । एकैचोटि बिहान ब्युँझिएछ ।
भोलिपल्ट धुन्चे काठमाडौंको बस पनि हामी आउँदाको बस नै परेछ । आउने वेलाकै सिटमा बसेर हामी काठमाडौं फर्किँदै गर्दा ठुलो स्याफ्रुसँगको आत्मीयता, चोलाङपारिको शान्तता, लौरी विनायकको दिव्यता, चन्दनबारीको प्राकृतिक सुन्दरता अनि खोला हराएको रातका अविस्मरणीय पलहरू मनभरि खेलाउँदै दिउँसो दुई बजे घर आइपुगेको पत्तै भएन ।