पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा

शुक्रबार, ११ बैशाख, २०८३
डिजिटल संस्करण

पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार पोखरा पुगेका छन्। उनको आगमनका क्रममा पोखरा विमानस्थल क्षेत्रमा समर्थकहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो।

विमानस्थलमा बाजागाजासहित भेला भएका समर्थकहरूले शाहको स्वागत गरेका थिए। सो क्रममा केही समूहले राजसंस्थाको समर्थनमा तथा वर्तमान व्यवस्थाविरुद्ध नाराबाजीसमेत गरेका जनाइएको छ।

लोकतन्त्र दिवसकै दिन पोखरा पुगेका शाह त्यहाँ हालै सञ्चालनमा आएको सोल्टी होटेलमा बस्ने कार्यक्रम रहेको बताइएको छ। सुरक्षा स्रोतका अनुसार उनी कम्तीमा दुई सातासम्म पोखरामा बस्ने प्रारम्भिक योजनासहित पुगेका हुन्।

बसाइ अवधिमा उनले विभिन्न स्थानको अवलोकन गर्नुका साथै विभिन्न व्यक्तिहरूसँग भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ। पोखरा भ्रमण व्यवस्थापन समितिसँग आबद्ध अर्जुन खनालले यसपटकको भ्रमणलाई विशेष महत्त्वका साथ हेरिएको बताएका छन्। उनका अनुसार लामो बसाइसहितको यस भ्रमणले राजनीतिक सन्देशसमेत दिन सक्ने अपेक्षा गरिएको छ।

यसअघि पनि शाह ०८१ माघ २७ गते पोखरा पुगेका थिए। त्यतिवेला करिब दुई साताको बसाइपछि काठमाडौं फर्कँदा उनका समर्थकहरू विमानस्थल क्षेत्रमा ठुलो संख्यामा उपस्थित भई स्वागत गरेका थिए।

सुझावित समाचार