काठमाडौंको थापाथली क्षेत्रमा सुकुमवासीको नाममा हुकुमवासीले पनि रजाइँ गरेको भेटिएको उपत्यका विकास प्राधिकरणले जनाएको थियो । गत असोज, कात्तिक र मंसिरमा अनुगमन गर्दा ३६ जनाको अन्यन्त्र घरजग्गा भएको भेटिएको प्राधिकरणले जनाएको थियो ।
यसबाहेक अधिकांश भारतीय नागरिकले खोलाकिनारको क्षेत्र ओगटेर बसेकोसमेत भेटिएको थियो ।
‘हामीले अनुगमन गर्दा हुकुमवासी बढी थिए, ती पात्रहरूले अन्तबाट मानिस ओसार्ने र यहाँ ल्याएर राख्नेसमेत गर्दै आइरहेका छन्,’ प्राधिकरणका एक कर्मचारीले भने, ‘तीनकुने, सिनामंगल क्षेत्रमा पनि थुप्रै हुकुमवासीहरू छन्, एकले अर्कोलाई घरटहरा बनाएर बेचिरहेका छन्, आधाभन्दा बढी त भारतीय नागरिक छन् । कतिपय काठमाडौं र ललितपुरमा रोपनी जग्गा भएकाहरू पनि सुकुमवासी बनेर बसेका छन्, त्यस्तालाई हटाउनैपर्छ ।’