लुम्बिनी प्रदेश सभाको १६औँ बैठकले जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ।
मुख्यमन्त्री चेतनारायण आचार्यको तर्फबाट भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले उक्त विधेयकमाथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। सभामुख घर्तीले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दै सर्वसम्मत पारित भएको घोषणा गरेका हुन्।
बैठकमा भौतिक पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जवाफ मन्त्री ढकालले दिएका थिए। त्यस्तै, सामाजिक विकास समितिका सभापति यमबहादुर नेपाली सार्कीले ‘सामाजिक विकास समितिको वार्षिक प्रतिवेदन’ सभामा पेस गरेका थिए।