रुपन्देहीमा घरेलु हिंसाका घटनामा वृद्धि भएको छ । यहाँ चैत महिनामा मात्रै घरेलु हिंसाका ८८ वटा उजुरी दर्ता भएका छन् । यहाँ फागुन महिनामा ४४ वटा उजुरी दर्ता भएकोमा चैतमा ह्वात्तै बढेको हो । घरेलु हिंसामा घरमा खान–बस्न नदिने, विवाह दर्ता नगरिदिनेदेखि नागरिकता नबनाइदिनेसम्मका उजुरी यहा परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारीसमेत रहेका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार घरेलु हिंसामा मादकपदार्थ सेवन गरी झैझगडा गरेकासमेत उजुरी परेका छन् । प्रहरीमा दर्ता भएका ८८ उजुरी ध्ये ८० वटा मिलापत्र गरिएको छ ।
चैत महिनामा घरेलु हिंसामा घरायसी झैझगडा ३७, घरमा खान–बस्न नदिएको चार, कुटपिट तथा घाउजाँच केस फारम २१, विवाह दर्ता र नागरिकता नबनाइदिएको दुई, मादकपदार्थ सेवन गरी गालीगलोज गरेका २४ वटा उजुरी प्रहरीमा परेका थिए । घरेलु हिंसामा सबैभन्दा धेरै १९ देखि ५९ वर्षसम्मका ८४ जना पीडित रहेका छन् भने ८५ जना पीडक रहेका छन् ।
गत फागुन महिनामा घरेलु हिंसाका ४४ वटा उजुरी दर्ता भएकोमा ३५ वटामा मिलापत्र गराइएको थियो। फागुन महिनामा घरेलु हिंसाका ४४ वटा उजुरीमध्ये घरायसी झैझगडाका ११ वटा रहेका थिए । त्यस्तै, मादकपदार्थ सेवन गरी गालीगलाेजका सात, विवाहदर्ता र नागरिकता नबनाइदिएको तीनवटा उजुरी पनि परेका थिए । जिप्रकाका प्रहरी नायब उपरीक्षक गणेश सापकोटाले जिल्लाको उत्तरी क्षेत्रको तुलनामा दक्षिणी क्षेत्रमा यस किसिमका घटना बढी घट्ने गरेको बताउँछन् ।
चैत महिनामा हराएका महिला, पुरुष, बालबालिका तथा ज्येष्ठ नागरिक संख्या १०३ रहेको छ । जसमा सबैभन्दा धेरै महिला रहेका छन् । जिप्रकाका अनुसार महिला ५०, बालिका १९ चैत महिनामा हराएका छन् । त्यस्तै, पुरुषतर्फ ज्येष्ठ नागरिक पाँच, बालक सात र पुरुष २२ जना हराएको तथ्यांक यहाँ रहेको छ । यहाँ चैतमा ५५ जना भेटिएका छन् । जसमा महिला २४, पुरुष १३, बालिका ११, बालक पाँच, ज्येष्ठ नागरिक पुरुष दुई रहेका छन् ।
चैत महिनाको तुलनामा फागुन महिनामा हराएका महिला, पुरुष, बालबालिका तथा ज्येष्ठ नागरिककाे संख्या कम रहेको थियो । फागुनमा यस्तो संख्या ६३ रहेको थियो । जसमा सबैभन्दा धेरै महिला रहेका थिए । जिप्रकाका अनुसार महिला ३०, बालिका १५, ज्येष्ठ नागरिक महिला इकजना फागुन महिनामा हराएका थिए । त्यस्तै, पुरुषतर्फ ज्येष्ठ नागरिक एक, बालक दुई र पुरुष १४ हराएको तथ्यांक रहेको थियो । यहाँ फागुन महिनामा २१ जना भेटिएका थिए । जसमा महिला नाै, पुरुष सात, बालिका तीन, बालक एक, ज्येष्ठ नागरिक पुरुष एक रहेका थिए ।
अपराधका १९९, आर्थिक अपराधका ७९ मुद्दा
रुपन्देहीमा अपराधका घटना पनि बढ्दो रहेको छ। यहाँ फागुन महिनामा अपराधसँग सम्बन्धित १०४ वटा मुद्दा प्रहरीमा दर्ता भएकोमा चैतमा ह्वात्तै बढेको छ । चैत महिनामा यहाँ अपराधका १९९ मुद्दा दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार दर्ता भएका मुद्दामा आर्थिक अपराधका मुद्दा ७९ रहेका छन् । यहाँ संगठित तथा आर्थिक अपराधका मुद्दा फागुनमा ३७ वटा रहेकोमा चैतमा यस्तो मुद्दा ७२ रहेका छन् ।
ज्यानसम्बन्धी १७, चोरीका नाै, सामाजिक अपराध ५५, सवारीसम्बन्धी १५, महिला तथा बालबालिकासम्बन्धी अपराधका ११ तथा आत्महत्याका २० वटा मुद्दा चैत महिनामा प्रहरीमा दर्ता भएका छन् । यहाँ फागुनमा ज्यानसम्बन्धी नाै, चोरीका तीन, सवारीसम्बन्धी ११, महिला बालबालिकासम्बन्धी अपराधका पाँच तथा आत्महत्याका १८ वटा मुद्दा प्रहरीमा दर्ता भएका थिए ।
चैत महिनामा चालू मुद्दाका २२१ जना प्रतिवादी पक्राउ परेका छन् । त्यस्तै, ९६ जना फरार प्रतिवादी चैत महिनामा पक्राउ परेका छन् । त्यस्तै, रुपन्देही प्रहरीमा ठाडो उजुरीको संख्या पनि उल्लेख्य रहेको छ । यहाँ चैत महिनामा ४३६ ठाडो उजुरी परेकोमा ३९६ वटा फर्स्याेट भएका छन् । त्यस्तै, जिल्ला प्रशासन कार्यालयमार्फत प्रहरीमा आएका ३५ वटा उजुरीमा २० वटा फर्स्याेट भएका छन् ।
सवारी दुर्घटना १६७, मृत्यु १४, घाइते २६१
चैत महिनामा रुपन्देहीमा १६७ सवारी दुर्घटना भएको तथ्यांक छ। यी दुर्घटनामा परेर १४ जनाको ज्यान गएको छ भने २६१ जना घाइते भएका छन् । प्रहरीले यस महिनामा चेकजाँचका क्रममा तीन हजार ३०३ वटा सवारीलाई कारबाही गरेको छ ।