दाङको तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुखको कार्यकक्ष केही दिनदेखि सुनसान छ । नगरप्रमुखलाई भेट्न आएका सेवाग्राहीहरू त्यसै फर्किन्छन् । एकजना कर्मचारी नगरप्रमुखको सचिवालयमा हुन्छन् । उनले नै प्रमुख नभएको जवाफ दिन्छन् । त्योबाहेक नगर प्रमुखबाट हुनुपर्ने काम केही हुँदैन । नगर प्रमुख नहुँदा कार्यभार तोकेर जानुपर्छ । तर, अहिले कार्यभार पनि तोकिएको छैन । नगर प्रमुख टीकाराम खड्का ४ वैशाखमा तुलसीपुरबाट काठमाडौं गए । उनी चीन भ्रमणमा जानका लागि सोही दिन काठमाडौं गएका हुन् । नगर प्रमुख खड्का १२ गते मात्रै काठमाडौं आइपुग्ने नगर प्रमुख सचिवालय स्रोतले बताएको छ । यसरी हेर्दा नगर प्रमुख आठ दिन कार्यालयमा हुने छैनन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार नगर प्रमुख सात दिनभन्दा बढी अनुपस्थित हुने भएमा उपप्रमुखलाई कार्यभार दिनुपर्दछ ।
तर, नगर प्रमुख खड्काले उपप्रमुख स्यानी चौधरीलाई कार्यभार नदिएर चीन गए । जसले गर्दा हाल उपमहानगरपालिका प्रमुखविहीन बनेको छ । ‘मलाई न त मौखिक जानकारी छ, न त लिखित छ,’ चौधरीले भनिन्, ‘कुनै जानकारी नै नभएपछि मैले जिम्मेवारी आफैँ कसरी सम्हाल्ने, एकपटक मौखिक जानकारी दिएको भए पनि हुने ।’
उपप्रमुख चौधरीका अनुसार नगर प्रमुख ५ वैशाखदेखि कार्यालयमा सहभागी छैनन् । कार्यालयमा सहभागी नहुँदा सेवाग्राही आफूमा ठोक्किन आए पनि जिम्मेवारी नहुँदा अन्याेलमा परेको उनको भनाइ छ । ‘मलाई केही जिम्मेवारी तोकिएको छैन, उपप्रमुखका हिसाबले आफ्नो जिम्मेवारी पूरा गरेकी छु,’ उनले भनिन्, ‘तर, कार्यभार नदिएपछि आफैँ सम्हालने कुरा पनि भएन ।’
विगतमा तुलसीपुरमा उपप्रमुख हुँदाहुँदै वडाध्यक्षलाई जिम्मेवारी दिइएको विषय निकै विवादास्पद हुन्थ्यो । तर, अहिले कार्यवाहक नतोकेरै गएपछि उपमहानगरपालिका गैरजिम्मेवार बन्ने गरेको सेवाग्राहीको गुनासो आउने गरेको छ । नगर प्रमुख खड्का ‘चीन–नेपाल एग्रिकल्चरल टेक्नोलोजी’ सेमिनारमा सहभागी हुन चीन पुगेका हुन् । उनीसहित नेपालका केही नगर प्रमुखहरू चीन गएका छन्। यसरी एक हप्ता बाहिर जाँदा प्रशासनिक कानुन र सुशासनको सिद्धान्तअनुसार लिखित रूपमै उपप्रमुख वा उपप्रमुख नभएको सन्दर्भमा कुनै पनि कार्यपालिका सदस्यलाई कार्यभार तोकेर जानुपर्छ ।