केराको अस्वाभाविक मूल्य नियन्त्रण गर्न उत्पादक किसानको माग

बुधबार, ९ बैशाख, २०८३
डिजिटल संस्करण

बजारमा प्रतिदर्जन तीन सय रुपैयाँभन्दा बढी पुगेको केराको उपभोक्ता मूल्य नियन्त्रण हुनुपर्ने केरा उत्पादक किसानले बताएका छन् । मंगलबार दिउँसो पत्रकार सम्मेलन गर्दै केरा उत्पादक महासंघ, तदर्थ समितिका अध्यक्ष विष्णुहरि पन्तले बारीमा अधिकतम ८५ रुपैयाँ दर्जनले बिक्री भइरहेको केराको बजार मूल्य अस्वाभाविक भएको बताए ।

‘किसानको बारीबाट बिलियम र जी–नाइज जातको केरा ५० देखि ६० रुपैयाँ र मालभोग केरा ७० देखि ८५ रुपैयाँ प्रतिदर्जनले बिक्री गरिरहेका छौँ,’ उनले भने, ‘तर, बजारमा तीन सय रुपैयाँभन्दा माथि पुगेको सुनेका छौँ । त्यसैले यस्तो अस्वाभाविक मूल्य नियन्त्रण गर्न सरकारी निकायले सक्रियता बढाउनुपर्छ ।’

टिआर–४ नामक रोग नियन्त्रणका लागि सरकारले भारतबाट आयात प्रतिबन्ध लगाएपछि अहिले बजारमा स्वदेशी केरा मात्रै उपलब्ध छ, तर बजार मागअनुसार स्वदेशी उत्पादन कम भएकाले मूल्य अकासिएको व्यवसायीको टिप्पणी छ ।

हाल मासिक ८० हजार टन केराको माग रहेको, तर स्वदेशी उत्पादन ६० हजार टन मात्रै भएकाले मागअनुसार आपूर्ति हुन नसकेको अध्यक्ष पन्तले स्वीकार गरे । भारतबाट आयात प्रतिबन्ध भएपछि स्वदेशमा केरा खेती विस्तार भएको र साउनदेखि बजारमा मागभन्दा बढी केरा आपूर्ति हुने सुनिश्चित भइसकेको उनले बताए ।

उनले आगामी दुई वर्षभित्र बाह्रै महिना स्वदेशी केराले माग धान्न सक्ने गरी खेती विस्तार भएको जानकारी दिए । हाल देशभर १५ हजार पाँच सय हेक्टरमा केरा खेती भइरहेको र सात हजार हेक्टरमा विस्तार गरेको खण्डमा आत्मनिर्भर हुन सक्ने उनले बताए ।

See More On

सुझावित समाचार