पर्यटकीय, ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको पातीखोला (गुप्तकालिका) गुफा संरक्षणका लागि महायज्ञ हुने

मंगलबार, ८ बैशाख, २०८३
डिजिटल संस्करण

पर्यटकीय, ऐतिहासिक तथा धार्मिक–सांस्कृतिक महत्त्व बोकेको कास्की जिल्लास्थित पातीखोला (गुप्तकालिका) गुफा संरक्षण तथा आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञ आयोजना गरिने भएको छ।

माछापुच्छ्रे गाउँपालिका वडा नं. ४ र ५ को सीमामा पर्ने उक्त गुफाको संरक्षणका लागि पातीखोला गुफा संरक्षण समितिको आयोजना, गाउँपालिकाको संरक्षकत्व तथा स्थानीय आमा समूह, टोल सुधार समिति, क्लब तथा विभिन्न संघ–संस्थाको सहकार्यमा वैशाख १७ देखि २४ गतेसम्म महायज्ञ सञ्चालन गरिने मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो।

समितिका अध्यक्ष तथा मूल समारोह संयोजक क्याप्टेन डम्बर सिंह गुरुङका अनुसार महायज्ञ माछापुच्छ्रे–४, लाहाचोकस्थित जोगीचौर मणि परिसरमा हुनेछ।

गुफाको ऐतिहासिक पृष्ठभूमि

समुन्द्री सतहबाट करिब १,१०० मिटर उचाइमा अवस्थित करिब ५५ मिटर लामो यो गुफासँग विभिन्न किंवदन्तीहरू जोडिएका छन्। प्राचीन कालमा देवी भगवती र भैरवबीच भएको द्वन्द्वका क्रममा देवी उक्त गुफामा तपस्याका लागि गएको र भैरवले पछ्याउँदा गुफाको प्रवेशद्वारमा हनुमानले रोक्ने क्रममा युद्ध भएको कथन पाइन्छ। त्यसक्रममा देवी बाहिर निस्केर भैरवको शिर छेदन गरेपछि भैरवले क्षमा माग्दै देवीसँगै बस्न अनुरोध गरेको र देवीले स्वीकार गरेपछि गुफामा दुवैको स्थापना गरिएको किंवदन्ती छ।

हाल गुफाभित्र कुण्डसहित देवी र भैरवका मूर्तिहरू राखी पूजा गरिँदै आएको छ। पुरातत्व विभागको अध्ययन टोलीले गुफा परिसरमा प्राचीन शिलालेखसमेत फेला पारेपछि यसको पुरातात्विक महत्त्वबारे थप अनुसन्धान भइरहेको छ। गुफा दुई तल्लाको रहेको र भित्र धेरै चमेराहरू बसोबास गर्ने जानकारी पनि दिइएको छ।

इतिहासअनुसार, बाइसे–चौबिसे राज्यकालमा शिकारीहरूले दुम्सी पछ्याउने क्रममा गुफा पत्ता लगाएका थिए। महाभारतकालीन कथनअनुसार पाण्डवहरू पनि यही गुफामा लुकेर बसेको किंवदन्ती रहेको बताइएको छ।

धार्मिक र सांस्कृतिक गतिविधि

समितिका उपाध्यक्ष यमबहादुर गुरुङका अनुसार गुफा परिसरमा हरेक वर्ष मकर संक्रान्ति, चैते दशैं र वसन्त पञ्चमीका अवसरमा मेला लाग्ने गर्दछ। ती अवसरमा कुण्ड स्नान, पूजा तथा विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्।

विकास योजना र लक्ष्य

गुफा संरक्षण तथा विकासका लागि २०७५ सालमा करिब पाँच करोड रुपैयाँको विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार गरिएको थियो। हालसम्म विभिन्न सरकारी निकायबाट करिब एक करोड रुपैयाँ प्राप्त भई गुफा परिसरमा जग्गा सम्याउने, कम्पाउण्ड वाल निर्माण, बाटो बनाउने र मन्दिर निर्माणजस्ता प्रारम्भिक कार्यहरू सम्पन्न भएका छन्।

समितिका सचिव रुद्रनाथ अधिकारीका अनुसार बाँकी काम सम्पन्न गर्न आवश्यक बजेट अभाव भएकाले महायज्ञमार्फत करिब दुई करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ।

स्थानीय तहको धारणा

माछापुच्छ्रे गाउँपालिका–२ का वडा अध्यक्ष तथा प्रवक्ता गणेश आचार्यले गुफालाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पालिकाले आवश्यक पहल गरिरहेको बताए। श्रद्धापूर्वक पूजा गरे मनोकामना पूरा हुने विश्वासले पनि यस स्थानको महत्व बढ्दै गएको उनले उल्लेख गरे।

सुझावित समाचार