बिचौलियालाई फाइदा, किसानले पाएनन् केरामा बढेको मूल्य

धनगढी बजारमा केराको मूल्य प्रतिदर्जन २००, तर किसानले पाउँछन् बढीमा ५५ रुपैयाँ

मंगलबार, ८ बैशाख, २०८३
डिजिटल संस्करण

धनगढी बजारमा केराको मूल्य प्रतिदर्जन २०० रुपैयाँमा बिक्री–वितरण भइरहेको छ, तर किसानले भने बढीमा ५५ रुपैयाँ मात्रै पाउने गरेका छन् । कैलाली टीकापुरका केरा किसान विश्राम कुश्मीले मूल्यवृद्धि गरेर बिचौलियाले फाइदा लिएको बताए । 

‘बजारमा एक दर्जन केराको मूल्य २०० पुगिसक्यो, तर उपभोक्ताका लागि भाउ अकासिँदा हामी किसानले पुरानै मूल्य पाइरहेका छौँ,’ उनले भने, ‘आज पनि मैले व्यापारीलाई ५५ रुपैयाँ दर्जनका दरले बेचेँ, थप दिन मान्दैनन् ।’

जोशीपुर गाउँपालिका–४, झबैमा १२ बिघा जमिनमा केराखेती गर्दै आएका नेपबहादुर चौधरीले बजारमा महँगिएको केराको भाउ आफूले नपाएको बताए । ‘बजारमा केराको मूल्य ह्वात्तै बढेको छ, तर हामीलाई मूल्य दिन तयार छैनन्,’ डेढ दशकदेखि केराखेती गर्दै आएका चौधरीले भने, ‘किसानबाट खरिद गरेको मूल्यमा अलिअलि मुनाफा जोड्ने कुरा स्वाभाविक हो, तर चार गुणासम्म बढाएर बेच्दा किसान र उपभोक्ता दुवै मारमा परेका छन् ।’

सरकारले केरा आयातमा प्रतिबन्ध लगाएपछि उत्साहित बनेका स्वदेशी किसानको अहिले बारी र बजारमा मूल्य आकाश–जमिनको फरक देखिन्छ । किसान, व्यापारी र उपभोक्ताबिच देखिएको मूल्यको अन्तर सरकारले नियन्त्रण गर्नुपर्ने किसानहरूको माग छ । केरा उत्पादक संघ, कैलालीका उपाध्यक्ष टेकेन्द्र धामीले आयात प्रतिबन्धले केरामा आत्मनिर्भर बन्न सहज हुने, तर यो मौकामा भएको अस्वाभाविक मूल्यवृद्धि सरकारले नियन्त्रण गर्नुपर्ने बताए । ‘भारतबाट आयात प्रतिबन्धको मौका छोपेर केराको मूल्य धेरै बढाउनुपर्छ भन्ने हाम्रो माग होइन, लागतअनुसार मूल्य तोकिनुपर्यो,’ धामीले भने, ‘किसानले थोरै मूल्यमा बेच्नुपर्ने, उपभोक्ताले धेरै मूल्य तिर्नुपर्ने र फाइदाजति व्यापारीले लिने प्रवृत्ति सरकारले नियन्त्रण गर्नुपर्छ ।’ 

कैलाली र कञ्चनपुर केरा उत्पादनका पकेट क्षेत्र हुन् । संघका अनुसार कैलालीमा करिब एक हजार पाँच सय हेक्टरमा केराखेती भइरहेको छ । प्रतिहेक्टर उत्पादकत्व ३०.६ मेट्रिक टन रहेको कृषि ज्ञान केन्द्र, कैलालीका कृषि प्रसार अधिकृत टेकबहादुर विष्टले बताए । 

See More On

सुझावित समाचार