विराट गोल्डकपको उपाधि झापालाई

सोमबार, ७ बैशाख, २०८३
डिजिटल संस्करण

३८औँ संस्करणको ‘नोबेल विराट गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि झापा– ११ ले जितेको छ। विराटनगरको सहिद रंगशालामा आइतबार राति भएको फाइनलमा घरेलु टोली सम्राट स्पोर्टिङ क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै झापाले दोस्रोपटक उपाधि चुमेको हो।

उपाधिसँगै झापाले ११ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता सम्राट स्पोर्टिङले पाँच लाख रुपैयाँमा चित्त बुझायो। यसअघि ०७१ सालको संस्करणमा नेपाल आर्मीलाई हराउँदै झापाले पहिलोपटक प्रतियोगिता जितेको थियो।

झापाको जितमा राजेश दाहाल र दिवस उराउले समान एक गोल गरे। सम्राटका तर्फबाट सौरभ तामाङले एक सान्त्वना गोल फर्काए।

प्रतिस्पर्धात्मक फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। खेलको ८१औँ मिनेटमा झापाका राजेश दाहालले टोलीलाई अग्रता दिलाए। गोलरक्षक विशाल सुनारले प्रहार गरेको लामो पासलाई राजेशले गोलमा परिणत गरेका थिए। झापाले अग्रता लिएको ६ मिनेट बित्न नपाउँदै दिवस उराउले गोल थपे। उनले फागुराम थारूको पासमा गोल गरेका थिए। खेलको इन्जुरी समयमा सम्राटका सौरभ तामाङले गोल अन्तर घटाए पनि हार टार्न सकेनन्।

पहिलो हाफमा दुवै टोलीले गोल गर्ने सुन्दर अवसरहरू गुमाएका थिए। खेलको १६औँ मिनेटमा सम्राटका सुरज तामाङले पेनाल्टी क्षेत्र (डिबक्स)भित्रबाट गरेको प्रहार झापाका गोलरक्षक विशाल सुनारले उत्कृष्ट बचाउ गरे। त्यसलगत्तै झापाका सुलमान किङको प्रहार पोस्टबाट बाहिरिएको थियो। दोस्रो हाफमा भने झापा थप आक्रामक देखियो। ४७औँ मिनेटमा राजेश दाहाल र ५५औँ मिनेटमा मौसम सुब्बाको कडा प्रहार बाहिरिएको थियो।

फाइनल खेलको ‘प्लेयर अफ दी म्याच’ झापाका राजेश दाहाल घोषित भए। उनले नगद ११ हजार रुपैयाँ प्राप्त गरे। प्रतियोगिताको विधागत पुरस्कारमा पनि झापाकै वर्चस्व रह्यो। झापाका फागुराम थारू ‘हाई स्कोरर’ (सर्वाधिक गोलकर्ता) बने। उनले प्रतियोगिताभर तीन गोल गरे।

सम्राट स्पोर्टिङका अशोक खवास प्रतियोगिताको ‘सर्वोत्कृष्ट खेलाडी’ घोषित भए। उनले नगद ५१ हजार रुपैयाँ पाए। यस्तै, झापाका विशाल सुनार उत्कृष्ट गोलरक्षक र सन्तोष बस्नेत उत्कृष्ट प्रशिक्षक घोषित भए। उनीहरूले जनही १५ हजार रुपैयाँ पुरस्कार पाए।

विजेता तथा उपविजेता टोलीलाई कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्ट, कोशी प्रदेशको वन, पर्यटन तथा वातावरणमन्त्री भीम पराजुली, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला र विराट गोल्डकप फुटबल ट्रस्टका अध्यक्ष किशोरबहादुर शाहीले पुरस्कार वितरण गरेका थिए।

चैत २८ गतेदेखि सुरु भएको प्रतियोगितामा भारतका टोलीसहित आठ टिमको सहभागिता थियो।

सुझावित समाचार