राक्सिराङको चेपाङ बस्तीमा विद्युतीकरण र काठेपोल विस्थापनका लागि सरकारको ध्यानाकर्षण

आइतबार, ६ बैशाख, २०८३
डिजिटल संस्करण

मकवानपुरको राक्सिराङ गाउँपालिकाले चेपाङ समुदायको बसोबास रहेका दुर्गम बस्तीमा विद्युतीकरण र जोखिमयुक्त काठेपोल विस्थापनका लागि संघीय सरकारको ध्यानाकर्षण गराएको छ।

गाउँपालिका अध्यक्ष राजकुमार मल्ल नेतृत्वको टोलीले संघीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई भेटेर ध्यानाकर्षण गराएको हो। अध्यक्ष मल्लले भेटका क्रममा चेपाङ समुदाय बसोबास गर्ने क्षेत्रमा अझै पनि विद्युत, सडकजस्ता आधारभूत पूर्वाधारको पहुँच न्यून रहेको उल्लेख गर्दै तत्काल सुधारका लागि पहल गर्न आग्रह गरेको बताए।

उनले गाउँपालिकाको वडा नम्बर २ को जम्मुओढार क्षेत्रमा नयाँ विद्युत् लाइन विस्तार गर्न विशेष माग राखेको जानकारी दिए। यस्तै माछाबेँसी, थुम्की, आँपबारी, बरेटार, कालीधाप, सीमिटार, निङराङ, स्यामाङलगायत स्थानमा रहेका काठेपोल हटाउन आग्रह गरिएको बताए।

अध्यक्ष मल्लले वडा नम्बर ३ को गुल्मेटदेखि चमेरो गुफासम्म, वडा नम्बर ४ का बिन्देश, लुभुटी, छाकाडाँडालगायत क्षेत्र तथा वडा नम्बर ५, ६, ७ र ९ का विभिन्न बस्तीमा विद्युत सेवा विस्तारको माग गरिएको बताए। यसका अतिरिक्त वडा नम्बर २, ३, ४ र ७ अन्तर्गत थुम्की, आँपबारी, केराबारी, आलखोप, सरिखेत, लुथरी, भोर्ल्याङ, रानीवाङ, हात्तीछाल चौतारा, जिर्खेडाँडा, घट्टखोला र माइसिराङलगायत स्थानमा रहेका जीर्ण काठका पोल तत्काल हटाउनुपर्ने विषयमा पनि टोलीले मन्त्रीको ध्यानाकर्षण गराएको छ।

अध्यक्ष मल्लले चेपाङ समुदायको आर्थिक अवस्था कमजोर रहेकाले आधारभूत सेवासुविधामा पहुँच विस्तार भए शिक्षा, स्वास्थ्य तथा साना उद्यम प्रवर्द्धनमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

भेटमा मन्त्री श्रेष्ठले गाउँपालिकाबाट उठाइएका मागप्रति सरकार सकारात्मक रहेको बताउँदै चरणबद्ध रूपमा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले दुर्गम तथा विपन्न समुदायको जीवनस्तर सुधारका लागि आवश्यक पूर्वाधार विकासमा मन्त्रालयले प्राथमिकता दिने बताएको अध्यक्ष मल्लले जानकारी दिए।

सुझावित समाचार